उर्जा

विद्युत् बक्यौता रकम ४० करोड उठ्न सकेन

वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले ग्राहकसँग रहेको रु ४० करोड बक्यौता रकम उठाउन सकेको छैन । प्राधिकरणले आफ्ना ४६ हजार ग्राहकलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएकामा ग्राकहसँग बाँकी रहेको अझै रु ४० करोड उठाउन बाँकी रहेको केन्द्रका प्रमुख मुनीन्द्र ठाकुरले बताए ।

बाँकी रहेका सो बक्यौता रकम उठाउन प्राधिकरणले विद्युत् लाइन काट्ने, जनचेतना फैलाउने जस्ता काम गर्दै आएको छ । प्राधिकरणले आर्थिक वर्ष २०७५।७६ मा ३६ करोड ६३ लाख ७१ हजार ५२९ युनिट विद्युत् बिक्री गरी रु चार अर्ब पाँच करोड ८२ लाख ७९ हजार १८७ राजश्व सङ्कलन गरेको छ ।

यसैगरी प्राधिकरणले आव २०७४।७५ मा रु ३२ करोड २४ लाख आठ हजार २२ युनिट विद्युत् बिक्री गरी रु तीन अर्ब २८ करोड ६६ लाख ६४ हजार ९० राजश्व सङ्कलन गरेको थियो । शुरुमा १० दशमलव ७३ प्रतिशत विद्युत् चुहावट हुँदै आएको बारा, पर्सामा चुहावट घटाउने लक्ष्य लिएपछि अहिले ४ दशमलव ९६ प्रतिशतमा चुहावट झरेको छ । प्राधिकरणलाई रु २० करोड नाफा भएको केन्द्र प्रमुख ठाकुरले बताए ।

आव २०७५।७६ मा विभिन्न तरिकाबाट उद्योगले रु ५१ लाख ४६ हजार ४४१ युनिट विद्युत् चुहावट गरेकोले ८० वटा उद्योगलाई कारवाही गरी रु पाँच करोड ५३ लाख ११ हजार ६६५ जरिवाना असुल गरेको छ । विद्युत् चोरी गरी चुहावट गर्दै आएका अन्य ग्राहकबाट प्राधिकरणले रु ३१ लाख २८ हजार ३१७ जरिवाना असुल गरेको छ ।

यसैगरी विद्युत् खपत गरी राजश्व नबुझाउने र कालो सूचीमा रहेका ९२ जना ग्राहकबाट रु ४९ लाख २८ हजार ३४९ राजश्व सङ्कलन गरेको छ भने समयमा पैसा नबुझाउने ७१२ जना ग्राहकको लाइन काटेर रु छ करोड एक लाख १० हजार ६१७ बक्यौता रकम उठाएको छ । लामो समयदेखि विद्युत् मिटर खराब रहेकोले विद्युत् चुहावट बढ्दै जादा १५० वटा उद्योगको मिटर हटाएर नयाँ मिटर लगाएको छ ।

मिटर खराब हुँदा कम विद्युत् बिल उठने भएकोले वास्तविक खपत युनिट देखा परोस् भनेर प्राधिकरणले नयाँ मिटर जडान गरी विद्युत् चुहावट रोकेको छ । यसै क्रममा प्राधिकरणले साना ग्राहकको ४७८ वटा बन्द रहेको मिटर बदली रु ४२ लाख २६ हजार ७४७ राजश्व उठाएको छ ।