प्रदेश 1

डेङ्गु सङ्ख्या बढ्दो क्रममा, एकै परिवारमा सात जनामा डेङ्गुको सङ्क्रमण

इनरुवा। सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको छ ।

वडा नं ४ मा निवासी सन्तोष गुप्ताको परिवारमा सातै जनामा सो रोग फेला परेको अस्पतालले जनाएको छ । योसँगै इनरुवामा ११ डेङ्गु सङ्क्रमित बिरामी फेला परेको उक्त नगरपालिकाले पुष्टि गरेको छ । डेङ्गु सङ्क्रिमतको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको इनरुवा अस्पताल आकस्मिक कक्षले जनाएको छ ।

नमूना परीक्षणका क्रममा २० जनाभन्दा बढीमा डेङ्गुको सङ्क्रमण फेला परिसकेको आकस्मिक कक्षमा कार्यरत वरिष्ठ अहेब गुणानन्द झाले बताए। ज्वरो आएर उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको भएकाले उक्त रोगको सङ्क्रमितको सङ्ख्या बढ्नसक्ने स्वास्थ्यकर्मीको अनुमान छ । नगर क्षेत्रभित्र एकसाथ डेङ्गुका बिरामी फेला परेपछि नगरपालिकाको आपत्कालीन बैठकले शिक्षा शाखा प्रमुख डिल्ली निरौलाको संयोजकत्वमा डेङ्गु नियन्त्रण तथा प्रचारप्रसार समितिसमेत गठन गरेकोे छ ।

संयोजक निरौलाका अनुसार इनरुवा– ४ मा सात, वडा नं ५ मा चार र वडा नं ३ मा एक जनामा उक्त सङ्क्रमण देखिएकोे हो । जिवाणुका कारण सङ्क्रमण फैलने भएकाले बैठकको निर्णयअनुसार नियन्त्रणका उपाय अवलम्बन गर्नाका साथै जनचेतना फैलाउन समितिले तत्कालै काम थालिने उहाँले जानकारी दिए ।

इनरुवा अस्पतालमा स्वास्थ्यकर्मी चौबिसै घण्टा रहने गरी ‘हेल्प डेस्क’ राख्ने तयारीसमेत थालिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले वडामा विषादी छिट्ने कामसमेत शुरु गरिसकेको छ । वडातहसम्म जनचेतना फैलाउनका लागि अभियान थालिसकिएको नगरप्रमुख राजन मेहताले बताए ।
विद्यार्थी, शिक्षक हुँदै अभिभावकसहित स्थानीय सङ्घसंस्थालाई डेङ्गु नियन्त्रण र सचेतना अभियानमा सक्रिय सहभागिताका लागि आह्वानसमेत गरिएको उनको भनाइ थियो ।