बाग्मती

चार हजारलाई घरमै नागरिकता,नागरिता लिनेमा पुरुष भन्दा महिला बढी

हेटौँडा। घरदैलो सेवाअन्तर्गत जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा दुर्गम तथा ग्रामीण क्षेत्रमा शिविरमार्फत चार हजार ३७३ व्यक्तिलाई नागरिकता प्रदान गरेको छ । स्थानीय निकाय तथा स्थानीय प्रशासनको सहकार्यमा नागरिकता शिविरमार्फत महिला बालबालिका वृद्धवृद्धा अशक्त, आर्थिक अभावग्रस्त तथा पिछडिएको समुदायलाई नागरिकता प्रदान गरिएको सो कार्यालयले जनाएको छ ।

कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार पुरुषभन्दा महिलाले बढी नागरिकता लिएका छन् । शिविरमा महिलाले दुई हजार ७२१ र पुरुषले एक हजार ६५२ वटा नागरिकता लिएको बताइएको छ । आर्थिक वर्ष २०७५ः७६ मा विभिन्न ग्रामीण तथा दुर्गम क्षेत्रमा १२ पटक शिविर गरी नागरिकता वितरण गरिएको सो कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षमा १६ हजार ६५९ वटा नयाँ नागरिकता वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार जिल्ला प्रशासन कार्यालयले एक वर्षको अवधिमा वंशजका आधारमा १६ हजार ६१३ जनालाई नयाँ नागरिकता वितरण गरेको हो । नागरिकता प्राप्त गर्ने पुरुष सात हजार १९ जना र महिला नौ हजार ५९४ जना छन् ।

वैवाहिक अङ्गीकृत नागरिकता १६ जनाले प्राप्त गरेका छन् भने ३० जनाले जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन् । मकवानपुरमा गत वर्ष सात हजार ६८६ वटा प्रितिलिपि नागरिकता वितरण गरिएको प्रजिअ तामाङले जानकारी दिए । सेवा प्रवाहलाई जनताको घरदैलोसम्म पु¥याउने उद्देश्यले कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा विभिन्न मितिमा नागरिकता वितरण घुम्ती शिविर सञ्चालन गरिएको उनले बताए ।

जिल्लामा शान्ति सुरक्षाको विश्वसनीय र भरपर्दो सुरक्षा व्यवस्था मिलाई नागरिकको शान्ति सुरक्षा र अमनचयनको व्यवस्था पूर्णरुपमा मिलाइएको, जिल्लाको सुरक्षामा एकीकृत रणनीतिक सुरक्षा योजना तयार गरिएको र त्यसअनुसार काम गरिएको प्रजिअ तामाङले बताए ।

जिल्ला सुरक्षा समितिको बैठकलाई गतिशील, नतिजामुखी र प्रभावकारी बनाउँदै जिल्ला सुरक्षा समितिको बैठक ३३ पटक स्पष्ट एजेण्डासहित सञ्चालन गरिएको उनले बताए । मकवानपुर क्षेत्रमा पर्ने राजमार्गलाई निर्वाधरुपमा सञ्चालन हुने व्यवस्था मिलाउँदै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको नियमितरुपमा निरीक्षण गरिएको उनको भनाइ छ । गुण्डागर्दी, सङ्गठित अपराध, जबर्जस्ती असुली, महिला हिंसालगायतका र अपराधलाई नियन्त्रणमा महत्वपूर्ण काम भएको उनको दाबी छ ।