स्वास्थ्य

भेरी अस्पतालमा मिर्गौलाका बिरामीको चाप बढ्दो

राँझा । भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि आउने मिर्गौलाका बिरामीको चाप बढ्दो रहेको छ ।

भेरी अस्पतालमा अहिले दैनिक तीन चरणमा नौ जना मिर्गौलाका बिरामीको डायलासिस सेवा हुने गरेको अस्पतालका हेमोडायलासिस युनिट प्रमुख डा पारस श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, भेरी अस्पतालमा २३ जना मिर्गौलाका बिरामी डायलासिस सेवाका लागि आउने गरेका छन् । अस्पतालमा रहेका तीन वटा डायलासिस मेसिनमार्फत एक चरणमा तीन जनाको मात्रै डायलासिस हुने भएकाले अन्य बिरामी पालो कुर्न बाध्य छन् ।

अस्पतालमा डायलासिसका लागि आउने मिर्गौलाका बिरामीको चाप बढ्दो भएको जानकारी दिँदै अस्पतालका हेमोडायलासिस युनिट प्रमुख डा श्रेष्ठले भने, “अहिलेसम्म हामी कहाँ पालो पर्खेर बस्नुभएको बिरामीको सङ्ख्या २३ रहेको छ । बिरामीका आफन्त हरेक दिनजसो आउनुहुन्छ पालो आएको छैन भनेर पठाउन बाध्य छौँ ।”

बिरामीको चापअनुसारको डायलासिस मेसिन र दक्ष जनशक्तिको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । चार वटा मेसिन रहेकामा एउटा मेसिन बिग्रिपछि तीन वटा मेसिनले मात्र सेवा दिने गरिएको डा श्रेष्ठले बताए ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रुपानन्द अधिकारीले बिग्रिएको डायलोसिस मेसिन मर्मतको प्रयास भइरहेको बताए । उनले बिग्रिएको मेसिन एक।दुई दिन भित्रैमा मर्मत भई सञ्चालन हुने उल्लेख गर्दै मिर्गौलाका बिरामीलाई अस्पतालले सहजरुपमा डायलासिस सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए ।