पर्यटन/संस्कृति

डल्फिनले गर्ने गतिविधिको दृश्यावलोकन गरी पर्यटक रमाउन थाले

धनगढी । कैलालीको डल्फिन चरन क्षेत्रमा डुङ्गामा बोटिङ (जलयात्रा) सहित डल्फिनले गर्ने गतिविधिको दृश्यावलोकन गरेर पर्यटक रमाउन थालेका छन् ।

जिल्लाको दक्षिणपूर्वी क्षेत्रका काँडा, कन्द्रा, पथरैया र मोहना नदीको दोभान क्षेत्रमा यति बेला सहजरुपमा डल्फिन उफ्रिएको दृश्य त्यहाँ पुग्ने जो कोहीले सजिलै देख्न सकिन्छ ।

दोभान नजिक रहेको ढुङ्गाना गाउँका केही युवा विद्यालयको वर्षे बिदाको मौकामा डल्फिन अवलोकन गर्न आउने पर्यटकलाई ‘गाइड’ गर्न स्थानीय प्रकाश ढुङ्गाना र गोकुल भण्डारीलगायतका युवा सक्रिय हुँदै आएका छन् ।

“डल्फिन हेर्न आउनेलाई घुमाउँछौँ”, युवा गोकुल भण्डारीले भने, “घुमाइदिएबापत कतिपय पर्यटकले सक्दो नगद दिएर जान्छन् ।” डल्फिनले नदीमा गर्ने गतिविधिका बारेमा यी युवा जानकार छन् ।

मानिसपछिको दोस्रो बुद्धिमान र स्तनधारी प्राणी डल्फिन हो र यसको संरक्षण गर्नुपर्छ भन्ने चेतना यी युवामा देखिन्छ । पर्यटकलाई यी युवाले डल्फिन संरक्षणका लागि भइरहेका गतिविधिबारेमा जानकारीसमेत दिने गर्दछन् ।

डल्फिन हेर्न आउने पर्यटकको चहलपहल बढेसँगै राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा कैलाली जिल्लाले डल्फिन चरन क्षेत्रका रुपमा पहिचान बनाउन सफल भएको संरक्षणकर्मीको भनाइ छ । वर्षायाममा नदीमा पानीको सतह बढेसँगै भारतको घाँघरा नदीबाट डल्फिन बच्चा जन्माउन कैलालीका नदीमा आउने र पानीको सतह घटेपछि पुनःघाँघरा नदीमै फर्किने गरेको बताइएको छ ।

यहाँका नदीमा जन्मिएका बच्चा फर्किदा बयस्क भएर जाने गरेको संरक्षण केन्द्रका उपाध्यक्ष भोजराज ढुङ्गानाले बताए । “यस वर्ष नदीका फरकफरक ठाउँमा एउटै समयमा १३ बच्चा आमासँग खेलिरहेको देख्न सकिन्छ”, उनले भने ।

हालै इटाली, बेलायत र भारतका पर्यटक डल्फिन अवलोकन गरी फर्किएका छन् । हाल दैनिक बढीमा १५ पर्यटक डल्फिनको गतिविधि हेरेर फर्किने गरेका छन् । अवलोकनका लागि डल्फिन संरक्षण केन्द्रले नदीको दोभान रहेको ठाउँ ढुङ्गाना टोलमा केही वर्षअघि नै टावर निर्माण गरेको थियोे । प्रदेशसभा सदस्य डा.रणबहादुर रावल र वीरमान चौधरीको पहलमा हालै मोहना र पथरैया नदीको दोभानमा एउटा तथा मोहना र राप्ती खोलाको दोभानमा अर्को टावरसमेत निर्माण गरिएको छ ।

विश्वमै सबैभन्दा नजिकबाट सहजरुपले डल्फिन अवलोकन गर्न सकिने ठाउँ कैलालीका नदी रहेको डल्फिन संरक्षण केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठको भनाइ छ । कैलालीको पूर्व क्षेत्रको टीकापुर बजार र पश्चिमतर्फको भजनी हुँदै डल्फिन चरन क्षेत्रमा पुग्न सकिए पनि त्यहाँ सडकलगायतका पूर्वाधारको भने अभाव रहेको छ ।

गाउँमा ‘गुलेली बाजे’का नामले चिनिनुहुने भोजराज श्रेष्ठले नै सर्वप्रथम कैलालीको मोहना, कान्द्रा, काँडा र पथरैया नदीको दोभानमा दुर्लभ जलचर डल्फिन वर्षायाममा देखिने गरेको सार्वजनिक गरेका थिए ।

सो कुरा सार्वजनिक भएसँगै डल्फिनको संरक्षण प्रवद्र्धन एवं प्रचारप्रसार को काम शुरु गरिएको हो । डल्फिन संरक्षण केन्द्रका अध्यक्षसमेत रहनुभएका ८५ वर्षीय श्रेष्ठ अहिले पनि तन्नेरीले झैँ संरक्षण अभियानमा लागिरहेका छन् ।

डल्फिन संरक्षित क्षेत्र घोषित गरी यो ठाउँमा आवश्यक थप पूर्वाधार जुटाउन सकिएमा डल्फिन अवलोकनका लागि देशकै प्रमुख गन्तव्यस्थल हुनसक्ने अर्का संरक्षण प्रेमी विजयराज श्रेष्ठले बताए ।

सो क्षेत्रमा गठन भएको डल्फिन संरक्षण केन्द्रअन्तर्गत डल्फिन संरक्षण उपकेन्द्र, डल्फिन क्लब र इको क्लबले संरक्षणसम्बन्धी गतिविधि गर्दै आएका छन् ।

मोहना, पथरैया र कान्द्रा नदीको दोभानमा डल्फिन अवलोकनमा आउने पर्यटकका लागि शौचालय, आराम घर तथा सूचना केन्द्र नहुँदा पर्यटकले सास्ती भोग्नु परिरहेको स्थानीयवासी भोजराज ढुंगानाले बताए । “डल्फिन हेर्दै जाँदा थकान पनि महसुस हुन्छ । थकित पर्यटकलाई आराम गर्न स–साना घरहरू बनाइदिएको भए राम्रो हुन्थ्यो”, डल्फिन अवलोकनका लागि आएका दयाराम चौधरीले भने ।

डल्फिन संरक्षण र पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारले नीति तथा कार्ययोजना बनाएर अघि बढ्नुपर्ने सुझाव चौधरीको छ । करिब ३० वर्ष पहिले यो स्तनधारी जन्तु नेपालका कोसी, गण्डकी र महाकालीमा देखिए पनि हाल कर्णालीको चिसापानीदेखि कोठियासम्म र वर्षायाममा कैलालीको मोहना, कान्द्रा, पथरैया र काढा नदीमा पनि देख्न पाइन्छ ।

डल्फिन देखिने नदी किनारमा व्यक्तिका जग्गाजमिन छन् । त्यसलाई व्यवस्थित गर्नुपर्ने र नदीको सतह सरसफाइमा ध्यान दिनुपर्ने देखिएको छ । स्थानीयस्तरमै यसको संरक्षण र प्रचारप्रसार भएपछि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् ।