समाचार

मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी

काठमाडौँ । मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४।७५ को तुलनामा आव २०७५।७६ मा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो ।

आव २०७४।७५ मा मानव बेचविखन तथा ओसारपसारमा ३०८ मुद्दा दर्ता भए पनि २०७५।७६ मा भने २२८ मुद्दा दर्ता भएका छन् । आव २०७३।७४ मा २२७ मुद्दा दर्ता भएका थिए ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रहरीको सक्रियतासँगै मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको बताउँछन् । “नेपाल प्रहरीको बढ्दो सक्रियता र जनचेतनामूलक कार्यक्रम सञ्चालनसँगै मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो”, उनी भन्छन् ।

नेपाल प्रहरीले मानव बेचविखन तथा ओसारपसारलाई नियन्त्रण गर्न मानव बेचविखन नियन्त्रण ब्यूरोको स्थापना गरेको छ । महिला तथा बालबालिका बेचविखन बढेसँगै सरकारले आव २०७५।७६ को बजेटमा मानव बेचविखन नियन्त्रण ब्यूरो स्थापनाका लागि रकम विनियोजन गरेपछि ब्यूरो स्थापना भएर काम गर्दै आएको उनको भनाइ छ ।