प्रदेश 1

सात महीना नबित्दै पर्खाल भत्किएपछि विद्यालय र भेटेनरी कार्यालय जोखिममा

खोटाङ । सात महीना नबित्दै पर्खाल भत्किएपछि दिक्तेलस्थित माटिकोरे खेलमैदान अगाडिको विद्यालय तथा पशु भेटेनरी कार्यालय भवन जोखिममा परेको छ । खेलमैदान तथा सरस्वती माविको भवन जोगाउन विसं २०७५ पुसमा निर्माण सम्पन्न गरिएको पर्खाल असार मसान्त नबित्दै भत्किएको हो ।

विसं २०७५ पुस १९ गते पूरा गर्ने गरी शुभ एण्ड धुव्र कन्स्ट्रक्सनले विसं २०७५ वैशाख ७ गते सो पर्खाल निर्माण गर्न सम्झौता गरेको थियो । निर्माण कम्पनीले समयअगावै पर्खाल निर्माण गरेर हस्तान्तरण गरे पनि गुणस्तरीय नहुँदा सम्पन्न भएको केही समयपछि नै पर्खाल ढलेको हो ।

जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय ओखलढुङ्गाको रु २७ लाख एक हजार ५५८ लगानीमा पर्खाल निर्माणको काम सम्पन्न भएको थियो । खेलमैदानको भित्तामा पर्खाल निर्माण गर्न रु ३१ लाख २२ हजार ९८४ बजेट भए पनि शुभ एण्ड धु्रव कन्स्ट्रक्सनले घटाघटमा ठेक्का लिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका लेखा अधिकृत सुदीप ढकालले बताए ।

जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय खारेज भएपछि सो मातहत सञ्चालन भएका कार्यक्रम हाल जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत सञ्चालन भइरहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा सबैको नजर पर्ने ठाउँकै संरचना ढल्नुले कामको गुणस्तरका विषयमा प्रश्न उठेको छ ।

निर्माण कम्पनीले कमसल सामग्री प्रयोग र गुणस्तरहीन काम गर्दा राज्यकोषको रकम बालुवामा पानी हालेसरह भएको स्थानीयवासीको गुनासो छ । विद्यालय तथा भेटेनरीको भवन जोगाउन निर्माण गरिएको पर्खाल भत्किएर खेलमैदानमा थुप्रिएपछि खेलकूदका गतिविधि सञ्चालन गर्नसमेत असहज भएको खेलाडीले बताएका छन् ।

जिल्लाका अधिकांश खेलकूदका कार्यक्रम सञ्चालन हुँदै आएको खेलमैदानको पर्खाल ठडिएको केही समयपछि नै चर्किन थालेको थियो । खेलमैदानको पूर्वीउत्तर दिशामा निर्माण गरिएको पर्खालमा जग नहालिएकाले भत्किएको जनाइएको छ ।

खेलमैदानमा निर्माण गरिने पर्खाल दर्शक बस्न मिल्ने गरी बनाउन भनिए पनि आफूखुशी बनाइएको दिक्तेल रुपाकोट–मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले बताए । पहिरोको उच्च जोखिममा रहेको माटिकोरे खेलमैदानमा जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यालयको करोडौँ खर्च भइसकेको छ ।