समाचार

उत्कृष्ट नतिजा ल्याउने छात्रालाई रु एक लाखको पुरस्कार

पोखरा । प्रतिभा मावि पोखराले राष्ट्रिय परीक्षा बोर्ड २०७५ मा सञ्चालित कक्षा–१२ को व्यवस्थापन सङ्कार्यतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएकी छात्रा सुरती पाण्डेलाई सम्मान गर्ने भएको छ ।

सो विद्यालयद्वारा आज आयोजित पत्रकार भेटघाटमा आफ्नो विद्यालयकी छात्रा पाण्डेले पोखराकै सर्वोत्कृष्ट ३.९२ जिपिए ल्याउन सफल भएकाले उनलाई रु एक लाख नगदका साथै उनकी कक्षा–७ मा अध्ययनरत भाइ सचितराज पाण्डेलाई कक्षा–१२ सम्म निःशुल्क अध्ययन गराउने घोषणा गरेको छ ।

सोही अवसरमा विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं अटोवेज प्रालिका सञ्चालक नारायण पौडेलले अटोवेजतर्फबाट रु ५० हजार पुरस्कारस्वरुप प्रदान गर्ने घोषणा गरे । सो अवसरमा विद्यालयका प्राचार्य विष्णुगोपाल पराजुलीले आइतबार साउन १९ गते विद्यालयमा सम्मान कार्यक्रमको अवसरमा उक्त राशिको पुरस्कार प्रदान गर्ने उल्लेख गर्दै सुरतीले प्राप्त गरेकी उत्कृष्ट नतिजाबाट आफूहरु गौरवान्वित भएको बताए ।

सोही अवसरमा विद्यालयका सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले सामान्य परिवारकी सुरतीको सफलताले अन्य विद्यार्थीलाई प्रेरणा प्राप्त हुने उल्लेख गर्दै मुलुकमै उच्चस्तरको शिक्षा प्रदान गर्नका लागि आफूहरु प्रतिबद्ध रहेको दृढता प्रकट गरिन् ।

बाल्यकालमै पिता गुमाएकी छात्रा सुरती पाण्डेले आफ्नी आमाको सङ्घर्षको कारण यो सफलता प्राप्त भएकाले आमाकी इच्छाअनुरुप चार्टड एकाउनटेन्ट बन्ने चाहना रहेको सो अवसरमा जानकारी गराईन् । उनले आमाकी अथक मेहनतले गर्दा आफूले यो सफलता पाएकाले यसको सम्पूर्ण यश आमाप्रति समर्पण गर्दै अब आमाको आँखामा आँशु आउन नदिनतर्फ सदैव तत्पर रहने प्रतिबद्धता प्रकट गरिन् ।

दृढ निश्चय भएमा केही असम्भव नरहेको उल्लेख गर्दै सुरतीले विद्यालयका शिक्षकहरुले आफूलाई सदैव उत्साहित गर्नुका साथै अभिभावकतत्वको जिम्मेवारीसमेत निर्वाह गरेकाले उनीहरुप्रति कृतज्ञतासमेत प्रकट गरे । कक्षा–११ र १२ सम्मको पढाइमा सुरती छात्रवृत्तिमा अध्ययन गरेकी हुन् ।