प्रदेश 1

चेतना प्रतिष्ठानद्वारा पत्रकार युवराज घिमिरे पुरस्कृत

विराटनगर । चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरको आज यहाँ आयोजित १४औँ वार्षिक साधारणसभाले वरिष्ठ पत्रकार युवराज घिमिरेलाई नरेश सुवेदी पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । पत्रकार घिमिरेलाई नगद रु ५१ हजार र सम्मानपत्रसहित सम्मान गरिएको हो ।

यसैगरी प्रतिष्ठानले सामाजिक सेवा पुरस्कारबाट विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली र बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीसहित एक दर्जन स्रष्टालाई सम्मानित गरिएको छ ।

प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले पुरस्कार वितरण गर्दै चेतना र विवेकलाई सँगै लगेमा मुलुकमा समृद्धि कायम हुने बताए । उनले सम्मानित व्यक्तिहरुले आफ्नो सम्मान कायम राखी राष्ट्रको कला, संस्कृति र भाषाको विकासकार्य लाग्नुपर्नेमा जोड दिए ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अङ्ग्रेजी भाषाको मोहको कारण नेपाली भाषा सङ्कटमा परेकोमा चिन्ता व्यक्त गर्दै प्रतिष्ठानले नयाँपुस्तालाई भाषा र साहित्य उत्थानमा दिशानिर्देशन दिनुपर्नेमा जोड दिए । उनले प्रदेश सरकार भाषा, साहित्य र कलाको संरक्षणका लागि कार्यदल गठन गरी त्यसको प्रतिवेदनको आधारमा स्व बालकृष्ण पोखरेलका नाममा रु एक लाखको पुरस्कार स्थापना गरी वितरण गरेको बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रतिष्ठानको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने र भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सम्मानित पत्रकार युवराज घिमिरेले चेतनाको विकास बृहत राष्ट्रका लागि हुनुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ गङ्गा सुवेदी, बेलवारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, प्रतिष्ठानका संरक्षक हरिभक्त सिटौला, कवि केदारनाथ सत्याल, बाबुराम श्रेष्ठ र गोपालप्रसाद सुवेदीले प्रतिष्ठानले सामाजिक क्षेत्रमा काम गर्नुपर्ने, स्थानीय सरकारमा भाषा, सहित्य र कलाको संंरक्षणको विषय प्रवेश हुनुपर्ने बताए ।

प्रदेश प्रमुख प्रा डा तुम्वाहाङले बाबुराम श्रेष्ठ वर्षाद्वारा लिखित ‘समयको हुरी’ विषयक कविता सङ्ग्रह र स्व बालकृष्ण पोखरेल विशेषाङ्क ‘चेतना सन्देश’ त्रैमासिक साहित्यिक पत्रिकाको विमाचन गरे ।