सुदूरपश्चिम

शिवाङ्गी दुबेः ‘कक्षा–दश, स्वर्ण पाँच’

भीमदत्तनगर । खेलप्रतिको लगाव र मेहनतले छोटो समयमै सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छिन् कुस्तीका खेलाडी शिवाङ्गी दुबे ।

कञ्चनपुरको भीमदत्तनगरस्थित आर्दश विद्या निकेतनमा कक्षा–१० मा अध्ययनरत शिवाङ्गी नेपाली महिला कुस्तीको इतिहासमा अब्बल खेलाडीका रुपमा उदाएकी छन् । भीमदत्तनगरपालिका–४ भाषीस्थित तीन वर्षदेखि बुबा।आमासित डेरा गरी अध्ययनसँगै कुस्ती खेलमा लागेकी दुबे यतिबेला हेटौँडामा भइरहेको कुस्ती खेलको बन्द प्रशिक्षणमा छिन् ।

आगामी मङ्सिरमा हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा ५३ किलो तौल समूहमा भिडन्तको तयारीमा जुटेकी दुबे बुबा राजुको प्रेरणाबाट २०७४ सालमा कुस्तीमा प्रवेश गरेकी हुन ।

विसं २०७४ यता मुलुकका विभिन्न भागमा भएका राष्ट्रिय प्रतियोगितामा आफ्नो तौल समूहमा एक छत्र स्वर्ण पदक जित्दै आएकी दुबे गत चैतमा सम्पन्न वृहत आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा पनि स्वर्ण पदक बिजेता खेलाडी हुन ।

“आठौं राष्ट्रियमा छोरी कुस्तीमा सबैभन्दा कान्छी खेलाडी भएकाले पनि उनको चर्चा चुलिएको थियो ।” बुबा राजुले भने,“खेलप्रति लगनशिल भएर लागेकाले छोरी सफलतातिर लम्किँदै गएकी छिन् ।” विसं २०७४ मा महेन्द्रनगरमै खेल जीवनमा आएकी शिवाङ्गीले पहिलो वर्षमा हेटौँडामा भएको राष्ट्रिय खेलकूद परिषद् राष्ट्रिय च्याम्पियनसिपमा ४८ किलो तौल समूहमा पहिलो पटक स्वर्ण जितेकी थिइन् । राखेप च्याम्पियनसिपबाट शुरु भएको उनको स्वर्ण पदक विजेताको यात्रा अनवरत छ ।

त्यसैगरी पोखरामा भएको पहिलो महिला राष्ट्रिय कुस्ती प्रतियोगितामा पनि उनले स्वर्ण पदक जितिन् । त्यसपछि ओलम्पिक डे का अवसरमा भीमदत्तनगरमै भएको राष्ट्रियस्तरको प्रतियोगितामा स्वर्ण जितेकी शिवाङ्गीले काठमाडौँमा एशियन छनोटका बेला पनि स्वर्ण पदक हात पारेको उनका बुबाले जानकारी दिए ।

“छोरीको पछिल्लो स्वर्ण वृहत आठौंको हो ।” राजुले भने,“ १३औँ सागमा पनि पदकको आशा धेरै छ ।” सागको बन्द प्रशिक्षणमा रहेकी शिवाङ्गीले दुई दशकपछि नेपालमै हुन लागेको साग प्रतियोगितामा पदक दिलाउने लक्ष्य राखेकी छिन् ।

“काश्य पदक ल्याउछुकी भन्नेमा म धेरै आशावादी छु ।” शिवाङ्गीको विश्वास छ, “सके अनुसार मेहनत गरिरहेको छु ।” उनले आफू अध्ययनमा पनि स्कुलमा अब्बल रहेको बताइन् । भीमदत्तनगरमा डेरा गरी बस्ने शिवाङ्गीका बुबा भने घर बनाउने मिस्त्रीको काम गर्छन् ।

डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थायी घर भएका राजुले लामो समय भारतमा बिताएको बताए । विसं २०५६ मा भारतको आग्राबाट सवारी चालकको कामबाट बिदा लिएर स्वदेश फर्किएका राजुको इतिहास पनि छोरीकै जस्तै खेलकूदमा छ ।

“मैले भारतमा करीब २५ वर्ष कुस्ती खेले ।” राजु दुबेले भने–“७ कक्षा मात्रै पढेकाले जागिर जान सकिन ।”नेपाल फर्किएपछि राजुले पाँचौं, छेठौं, सातौं र आठौं वृहत राष्ट्रिय खेलकूद प्रतियोगितामा ८६ किलो तौल समूहमा प्रतिस्प्रर्धा गरेका थिए ।

छैठौंमा रजत र सातौं राष्ट्रियमा काश्य पदक जित्नुभएका राजुले गत चैतको आठौंको सहभागिता भने रोचक रहेको बताए ।“जीवनमै पहिलो पटक आठौंमा छोरीसँगै खेलाडी भएर राष्ट्रिय प्रतिस्प्रर्धामा सहभागी भए ।” उनले भने,“छोरीले स्वर्ण पदक भित्र्याइन् भने मेरो सहभागिता मात्रै बन्न पुग्यो ।”

उनले आठौंका बेला आफू घाइते भएकाले पदक ल्याउन नसकेको बताए ।“छोरी पढाइमा पनि अब्बल भएकाले खेलमा ल्याएको हुँ ।” उनले भने,“मैले पढाइ नभएकाले नै जागिर खान सकिँन, छोरीको त आश छ नै ।” पारिवारिक रुपले सामान्य परिवारका दुबे छोरीको बन्द प्रशिक्षणमा हेरचाहका लागि हेटौँडामै रहेको बताए । दुबेका दुई छोरी र एक छोरा छन् ।

भारतको दिल्लीमा लामो समय मजदूरीसँगै कुस्ती खेल्नुभएका राजुले १९५७ मा भएको कुस्तीमा उत्तरप्रदेशको ऐटा जिल्ला च्याम्पियन भएको बताए ।“जिल्ला च्याम्पियन भएपछि महानगरस्तरको प्रतियोगितामा प्रवेश गरे ।” उनले भने,“त्यो स्तरमा भने जित्न सकिन ।”

नेपाली महिला कुस्ती खेलाडीले पहिलो पटक भारतको गवाहटीमा भएको १२औंँ सागमा सहभागी हुने अवसर पाएका थिए । मङ्सिरमा काठमाडौँ र पोखरामा हुने १३औँ सागमा कुस्तीमा महिलातर्फ १० वटा तौल समूहमा महिलाले सहभागिता जनाउने कुस्ती बन्द प्रशिक्षणमा खटिनुभएका प्रशिक्षक राजेन्द्र चन्दले जानकारी दिए ।

सागको बन्द प्रशिक्षणमा १० जना महिला खेलाडीमध्ये ६ जना भने कञ्चनपुरका रहेका छन् । गत जेठयता केही समय भीमदत्तनगरमै बन्द प्रशिक्षणमा रहेपछि कुस्ती टोली हेटौँडा गएको थियो ।