समाचार

राजधानीमा सफाइ अभियान जारी, सफाइमा ३५० भन्दा बढी अभियानकर्मीको सक्रियता

काठमाडौँ । उपत्यकाको सभ्यताको स्रोत वाग्मतीलगायत यसका सहायक नदी र चक्रपथ सफाइ अभियान जारी छ ।

वाग्मती सफाइ महाअभियानको ३२५औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १९ संस्थाका ३५० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सदस्य माला खरेलले राससलाई जानकारी दिए ।

सफाइमा तीनै वटा सुरक्षा निकाय, अधिकार सम्पन्न वाग्मती समिति, काठमाडौँ महानगरपालिकालगायतको संस्थागत सहभागिता थियो । सफाइमा वातावरण सद्भावना दूत एवं हिमाल आरोही आङतेम्बा शेर्पासहितका अभियानकर्मी पनि सक्रिय थिए ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २८७ हप्तामा गोठाटारबाट जोरपाटी जोड्ने पहेँलो पुलमा सफाइ गरियो । सफाइका क्रममा नदीभित्र छिरेर बाढीले बगाइ ल्याएका फोहरमध्ये कुहिनेलाई खाडल खनेर पुरी नकुहिने जति व्यवस्थापन गरिएको अभियानकर्मी ईश्वर पुडासैनीले बताए ।

वाग्मती सुन्दरता सरोकारमञ्चको नेतृत्वमा हुने यस क्षेत्रको सफाइमा सहभागी हुन घरको फोहर आफैँ व्यवस्थापन गर्नुपर्ने शर्त राखिएको छ । वाग्मतीको मुहानदेखि नै सफाइ गर्ने नारासहित यो क्षेत्रको सफाइ अभियान शुरु भएको हो ।

रुद्रमती सफाइको २७९ हप्तामा कालोपुलबाट रुद्र पनेकु बेलीब्रिजसम्मको किनार र नदीमा सफाइ गरी दुई क्वीन्टल फोहर व्यवस्थापन गरिएको छ । सफाइमा २०० अभियानकर्मीको सक्रियता रहेको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।

विष्णुमती सफाइको २५२औँ हप्तामा तारकेश्वर नगरपालिका–११ नेपालटारको चारघरेमा वृक्षरोपण गरियो । स्वच्छ वातावरण बनाउन सफाइसँगै वृक्षरोपण गरिएको सफाइ संयोजक शोभाकान्त पाण्डेले बताए ।

वृक्षरोपणको शुभारम्भ गदैै शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले सफाइमा स्थानीयवासी सबै जुट्नुपर्नेमा जोड दिए । वातावरणीय स्वच्छताका लागि सफाइसँगै पर्यावरण जोगाउन पनि लाग्नुपर्नेमा जोड दिए ।
सांसद भीमसेनदास प्रधानले जलवायु परिवर्तनबाट जोगाउन खाली स्थानमा बिरुवा रोप्नुपर्नेमा जोड दिए । सो अवसरमा प्रदेशसभा सदस्य योगेन्द्र सङ्ग्रौला, तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरालगायत सफाइ अभियानलाई साथ दिने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा रुद्राक्ष, वर, पिपल, समी, कदम, अम्बा, कल्कीफूल, निम, बाँस, पैयूँलगायत २२ जातका ७०० बिरुवा रोपिएको संयोजक पाण्डेले जानकारी दिए । वृक्षरोपणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रलगायत स्थानीयवासी गरी ५०० भन्दा बढीको सक्रियता थियो ।

वाग्मती तिलगङ्गा क्षेत्र सफाइको २५५औँ हप्तामा निलो पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइका क्रममा कुहिने फोहर खाडल खनेर पुरी नकुहिने फोहर व्यवस्थापन गरिएको संयोजक आशा पाण्डेले बताए ।

आलोकनगर सफाइको १२३औँ हप्तामा त्यस क्षेत्रमा स्वस्फूर्त जनचेतनामूलक सफाइ गरियो । सफाइमा त्यस क्षेत्रमा उम्रिएको गाँजासमेत फँडानी गरिएको संयोजक प्रमिला पौडेलले सुनाए ।

चक्रपथ सफाइको १२२ हप्तामा सामाखुसी चोकबाट गङ्गबु भई फेरि सामाखुसी चोकसम्म सफाइ गरियो । ५०० जना अभियानकर्मीको सहभागितामा भएको सफाइमा छ टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले जानकारी दिए ।

चक्रपथ सफाइ २०७१ को १०३औँ हप्तामा बालाजु चोकबाट गङ्गाहलसम्म सफाइ गरी दुई ट्रक फोहर व्यवस्थापन गरियो । सफाइमा सांसद सूर्य पाठक समेत सहभागी हुनुभएको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।

सफाइमा काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठलगायत २०० भन्दा बढी अभियानकर्मी सक्रिय थिए । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हाल देशभरका १०५ स्थानभन्दा बढी ठाउँमा कार्यक्रम भइरहेको छ । ठोस् उपलब्धि नदेखिए पनि सफाइ अभियानले देशव्यापी जागरण भने ल्याएको छ ।