लुम्बिनी

रम्भालाई गाउँपालिकाका रुपमा विकास गरिँदै

बेझाड । पाल्पाको रम्भा गाउँपालिकालाई नमूना गाउँपालिकाका रुपमा विकास गरिँदैछ । विकासले क्रमिक रुपमा गति लिँदै अगाडि बढेको यस गाउँपालिकालाई जिल्लाकै अन्य गाउँपालिकाभन्दा नमूना गाउँपालिकाका रुपमा विकास गर्ने योजनाका साथ विभिन्न कार्यक्रम अगाडि बढाइँदैछ ।

नमूना गाउँपालिका बनाउन आर्थिक वर्ष २०७६।७७ मा गाउँपालिकाले पूर्ण सरसफाइयुक्त, घरमै सुत्केरी हुने दरलाई शून्यमा पुर्‍याउने, खरको छानामुक्त गाउँपालिका, टुकिरहित उज्यालो गाउँपालिका, बालमैत्री र हरियाली गाउँपालिका घोषणा गर्ने गरी योजना निर्माण गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

“सबै कार्यक्रमको लागि ५० देखि ९० प्रतिशत पूर्वाधार पूरा भएको र अन्य पूर्वाधारका लागि आजैदेखि कार्यान्वयनमा लागेका छौँ” अध्यक्ष भण्डारीले भने । गाउँपालिकाले शिक्षा क्षेत्रमा रु ७० लाख १० हजार, स्वास्थ्यमा रु ३३ लाख ५० हजार, कृषितर्फ रु ९६ लाख, बालबालिकातर्फ रु ७० लाख, लक्षित वर्गको लागि रु ८७ लाख ५० हजार रकम विनियोजन गरेको छ ।
दूध र मासुमा आत्मनिर्भर हुने गरी किसान केन्द्रित कार्यक्रम ल्याएको छ । विद्यालयमा दिवा खाजा कार्यक्रमदेखि शिक्षक तालीमजस्ता कार्यक्रम गाउँपालिकाले नीति तथा बजेटमा समावेश गरेको छ ।

गतवर्ष ४४ किलोमिटर नयाँ सडक, १०९ किलोमिटर स्तरोन्नति, ८५० वटा नयाँ खानेपानीको धारा वितरण गरेको छ । १६३ जनालाई विशिष्ट तहको तालीम प्रदान गरी अधिकांश युवा स्वदेशमै रोजगारीमा लागेका छन् ।

छुवाछुतमुक्त गाउँपालिका बनाउन दलित र गैर दलित सहभागी संयुक्त अन्तक्र्रिया कार्यक्रम गर्ने, दाइजो प्रथालाई पूर्णरुपमा निष्क्रिय बनाउने कार्यक्रम गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले महत्वाकांक्षी योजनासहित चालु आर्थिक वर्षको लागि रु ४० करोड २२ लाख १९ हजार बराबरको नीति कार्यक्रम तथा बजेट ल्याएको प्रवक्ता कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।

नेपालकै उत्कृष्ट एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत परेको रम्भादेवी मन्दिर, पर्यटकीय रिमिघा लेक यसै गाउँपालिकामा पर्छ । यी क्षेत्रमा पर्यटक बढाउन गाउँपालिकाले पूर्वाधार विकासमा जोड दिएको छ ।
दुई वर्षमा गाउँपालिकाले सडक पूर्वाधार, खानेपानी, शिक्षा, रोजगार, ज्येष्ठ नागरिक संरक्षण जस्ता विभिन्न कार्यक्रम गर्न सफल भएको छ । सडक समस्याको रुपमा रहेको यस गाउँपालिकामा सडक सञ्जालले गाउँपालिकाको केन्द्रसम्म जोडिन पुगेपछि विकासले गति लिएको स्थानीयवासी बताउँछन् ।