आर्थिक

शङ्खरधर उद्यानको राजश्व नौ लाखले घट्यो

काठमाडौँ । शङ्खधर उद्यान तथा रानीपोखरी एकाइअन्तर्गतको शङ्खधर उद्यानको आर्थिक वर्ष २०७५।७६ को राजश्व आव २०७४।७५ को भन्दा रु नौ लाखले घटेको छ ।

सङ्घीयताको कार्यान्वयनसँगै उद्यानमा आउनेको सङ्ख्या घटेको उद्यानका इञ्चार्ज हरिशरण केसीले बताए । “वर्षायामको समयमा पनि अवलोकनाकर्ता कम हुने गरेका छन्”, इञ्चार्ज केशीले भने । यो वर्ष बगैँचाको केही सुधार गरिएको उनले जानकारी दिए । आव २०७४।७५ मा रु एक करोड २७ लाख राजश्व सङ्कलन भएको थियो ।

आव २०७५।७६ मा भने रु एक करोड १८ लाख २० हजार मात्र सङ्कलन भएको छ । जसमा चार लाख ९४ हजार ६८९ टिकट बिक्री भएका थिए । साधारण टिकटतर्फ रु ९२ लाख पच्चीस हजार, विद्यार्थी टिकटतर्फ रु १८ लाख १३ हजार ५००, विदेशी टिकटतर्फ रु दुई लाख ४४ हजार २००, एशियन टिकटतर्फ रु एक लाख २१ हजार ६५० र छायाङ्कनबाट रु तीन लाख ९१ हजार जम्मा भएको थियो ।

उद्यानमा साधारण टिकट रु २५, विद्यार्थी टिकट, विदेशी टिकट रु ७५, एशियन टिकट रु ५०, विदेशी चलचित्र छायङ्कनका लागि रु २० हजार, नेपाली चलचित्रका लागि रु १० हजार, म्यूजिक भिडियोका लागि रु पाँच हजार र व्यावसायिक फोटो सेसनका लागि रु ५०० दर रहेको छ ।