समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा स्थापित गरिने

काठमाडौँ । मुलुकको हवाईसेवा प्रदायक कम्पनीको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा र पूर्वाधार विकासलाई प्राथमिकताकासाथ अघि बढाएको जनाएको छ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सुरक्षा, पूर्वाधार र क्षमता अभिवृद्धिका कामलाई विशेष ध्यान दिइएको बताए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को सुरक्षा मापदण्डअनुरुप नेपालको उड्डयन क्षेत्रको सुदृढिकरणका लागि योजनाबद्ध काम अघि बढाइने उनले उल्लेख गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको कामलाई प्राथमिकताका साथ अघि बढाइको छ । अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो पटक धावनमार्गको स्तरोन्नति ‘रनवे रिह्याब’ को काम हालै सम्पन्न भएको छ । आगामी डिसेम्बर महीनासम्म विमानस्थलको ‘ट्याक्सी वे’ को मर्मतको काम सकिने प्राधिकरणले जनाएको छ । यो विमानस्थलाई बुटिक विमानस्थलका रुपमा स्थापित गर्नेगरी काम भइरहेको छ ।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनमा ल्याउने गरी तीव्र रुपमा कामअघि बढाइएको छ । आयोजनालाई जसरी पनि सम्पन्न गरी उडानसेवा सञ्चालन गर्ने योजनाका साथ प्राधिकरण लागि परेको महानिर्देशक पोखरेलको भनाइ छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को जुन अघिनै सञ्चालन गर्नेगरी काम भइरहेको छ ।

“हाम्रो मुख्य ध्यान बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलाई जतिसक्दो चाँडो निर्माण प्रक्रिया अघि बढाउने हो । त्यसलाई कुन मोडालिटीमा निर्माण गर्ने भन्ने नेपाल सरकारले निर्णय गरेपछि धमाधम निर्माण गरिन्छ । आयोजना चाँडो अघि बढाउन प्राधिकरण र मन्त्रालय सक्रियतापूर्वक लागि परेको छ”, महानिर्देशक पोखरेलले भने ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका रुख कटानको विषय विवादित बन्दा सो आयोजनाको प्रगति भएको छैन । अहिले विमानस्थलको चार किल्ला तोक्ने, तारबार हाल्ने र मुआब्जा वितरणको काम भइरहेको छ । नेपाली सेनासँग भएको सम्झौता अनुरुप वन मन्त्रालयको स्वीकृति पाएमा रुख कटानको काम शुरु हुने जनाइएको छ ।

अहिले सो प्रक्रियाका लागि प्राधिकरणले तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयलाई रुख कटानको स्वीकृतिका लागि पत्राचार गरेको छ । यसबारे कुनै निर्णय भएको छैन । एक सार्वजनिक कार्यक्रममा वनमन्त्री शक्तिबहादुर बस्नेतले कम भन्दा कम क्षति हुनेगरी आवश्यकताका आधारमा निजगढ विमानस्थल निर्माणका लागि रुख काट्न सहमति दिन सकिने सङ्केत गर्नुभएको थियो । सो आयोजनाको वातावरणीय पक्षको चासोलाई लिएर केही वातावरणविज्ञले रुख कटानको विरोध जनाउँदै आएका छन् ।

अन्य आन्तरिक विमानस्थलको सेवा सुधार र गुणस्तर बढाउन प्राधिकरण लागि परेको छ । महानिर्देशक पोखरेलका अनुसार अहिले भएका ठूला आन्तरिक विमानस्थलको स्तरोन्नति गर्दै एटिआर विमानदेखि एक सय सिट क्षमताका विमान उडान अवतरण गर्नेगरी स्तररोन्नति गर्ने योजनाका साथ काम थालिएको छ ।

चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलको स्तरोन्नतिका लागि गुरुयोजनाका साथ काम अघि बढाइनेछ । यि विमानस्थलमा अहिले रात्रिकालीन उडान भइरहेको छ । तराईका सम्भव भएका विमानस्थलमा रात्रिकालीन उडानका लागि पहल गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणको सन् २०१८ को प्रतिवेदन अनुसार मुलुकभर हाल ४९ विमानस्थल छन् तीमध्ये ३३ विमानस्थल सञ्चालनमा छन् ।