स्वास्थ्य

बालकुमारीमा फिजियो थेरापी शुरु, एक महीनासम्म बिरामीलाई छुटको व्यवस्था

भक्तपुर । फिजियो थेरापीका माध्यमबाट स्वास्थ्य सेवामा योगदान गर्ने उद्देश्यले नेपाल फिजियो थेरापी एण्ड रिह्याविलेशन सेन्टरको स्थापना गरिएको छ ।

ललितपुर महानगरपालिका–९ बालकुमारीमा स्थापना गरिएको उक्त सेन्टरमा मेरुदण्ड भाचिएका, गर्धन तथा कम्मरको नशा च्यापिएको, पक्षघात, मस्तिष्क पक्षघात, पार्किन्सन रोग, बाथ रोगको विशेष उपचार आजदेखि शुरु गरिएको छ । विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परामर्श, दुःखाई निर्मूल उपचार, हाडजोर्नी, नशा, मनोरोग, मधुमेह, थाइराइड, स्नायु, नाक, कान घाँटीलगायतको उपचार गरिने जनाइएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उक्त सेन्टरको शुभारम्भ गर्दै संस्थाले सञ्चालनमा ल्याएको थेरापी सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सके यस क्षेत्रका बिरामी लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य क्षेत्रमा प्राकृतिक, आयुर्वेद तथा भौतिक चिकित्साशास्त्रको महत्व रहेको उल्लेख गर्दै महानगरपालिकाले यस क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सेन्टरका अध्यक्ष सहदेव व्यञ्जनकारले थेरापीमा कुनै दीर्घकालीन असर नहुने हुँदा यसको क्षेत्र फराकिलो बन्दै गएको बताए । डा तेञ्जीङ नोर्वु लामाले उक्त संस्थामा थेरापी सम्बन्धी दक्षजनशक्ति उत्पादन गर्ने, थेरापी सम्बन्धी उच्च अध्ययन र थप अनुसन्धानलाई अगाडि बढाउने लक्ष्य राखिएको जानकारी दिए ।

करीब रु एक करोडको लागतमा निर्माण भएको उक्त सेन्टरमा एक महीनासम्म बिरामीलाई केही प्रतिशत छुटको व्यवस्था तथा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट गरिएको छ ।