बाग्मती

दुई लाख लुटेर फरार रहेका लुटेरा लागुऔषधसहित आज पक्राउ

भक्तपुर । आइएमइबाट रकम झिकेर घर फर्कँदै गरेकी एक महिलाको साथबाट रु दुई लाखसहित लुटेर फरार रहेका लुटेरालाई लागुऔषधसहित आज प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले सिन्धुलाल्चोक राम्चे–७ घर भई हाल काठमाडौँको थानकोट बस्ने २९ वर्षीय पदम तिमिल्सिनालाई मध्यपुरथिमि–१ लोकन्थली, नरेफाँटबाट लागुऔषध डाईजापम, नोफिन र फेनारगन छ सेट तथा मोबाइल चार थानसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

विसं २०७५ असोज २४ गते सल्लाघारीमा रहेको एक आइएमइबाट रु दुई लाख निकाली निकोसेरातर्फ आउँदै गरेकी जया कोइरालाको साथबाट चाँगुनारायण नपा–२ दुवाकोटको हनुमन्ते पुल पारगर्ने क्रममा उक्त रकम र मोबाइलसहित लुटपाट गरी फरार रहेका तिमिल्सिनालाई लागुऔषधसहित पक्राउ गरेको उनले बताए ।

उक्त रकम लुटपाटमा संलग्न रहेका तीन जनामघ्ये तिमिल्सिना मुख्य रहेका र अन्य दुईजना सुजन तामाङ र पविन तामाङ यसअघि नै पक्राउ परी जेलमा रहेका प्रनाउ कोइरालाले जानकारी दिए । पक्राउ परेका अभियुक्त तिमिल्सिना लागुऔषध, पाकेटमारी, कुटपिट, ठगीमासमेत संलग्न रहेको अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।