सुदूरपश्चिम

रामपुरको शहरी स्वास्थ्य केन्द्रले पायो नयाँ भवन

बेझाङ । रामपुर नगरपालिका–२ मा निर्माण भएको शहरी स्वास्थ्य केन्द्र भलायटारको भवन उद्घाटन भएको छ । नवनिर्मित भवनको नगर प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्दै भौतिक संरचना तयार भएकाले अब स्वास्थ्यका लागि चाहिने आवश्यक सामग्री पनि नगरपालिकाले प्रबन्ध गर्ने बताएका छन् ।

नगरपालिकाको रु ३१ लाख २० हजारको लागतमा छ कोठासहितको सो भवन निर्माण भएको हो । दुई वर्षसम्म कृष्णादेवी माविको भवनबाट सञ्चालन हुँदै आएको स्वास्थ्य केन्द्र अब आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएपछि सेवा प्रवाह बढाउने सोच बनाएको केन्द्रका अध्यक्ष एवं वडा नं २ का अध्यक्ष ताराबहादुर थापाले बताएका छन ।

प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले नगरपालिकाको लगानीमा निर्माण भएको पहिलो भवन रहेको बताउँदै सेवा प्रवाहमा कुनै कन्जुस्याइँ नगर्न अनुरोध गरेका छन । स्थानीय हुमबहादुर कुमालले तीन वर्ष अघि रु ३२ लाख पर्ने एक रोपनी जग्गा भवन निर्माणका लागि उपलब्ध गराएपछि भवन बनेको हो । यस केन्द्रमा हाल एक अहेव, एक अनमी र एक कार्यालय सहयोगी छन् ।

भवन अभावमा तोकेका सेवा दिन नागरिकलाई समस्या परेको बताउँदै अब पूर्वाधार पर्याप्त भएपछि सजिलोसँग सेवा दिन पाइने अहेव तिलकराम सोतीले बताएका छन । भवन अभावमा परिवार नियोजन, खोप सेवा तथा परामर्शजस्ता सेवा दिन झमेला परेको स्वास्थ्यकर्मी बताउँछन् । यस भवनबाट जनशक्ति थप भएमा प्रसूति सेवा सञ्चालन गर्न सकिनेछ ।