उर्जा

रु २४ लाख ७३ हजारको लगानीमा डिजेल प्लान्ट जडान गरिने

खलङ्गा। जुम्ला सदरमुकाम खलंगा बजारको अन्धकार हटाउनका लागि डिजेल प्लान्ट जडान गर्ने भएको छ ।

दुई साताभन्दा बढी समयदेखि पूर्णरुपमा अँध्यारो रहेको खलंगा बजारलाई उज्यालो पार्न सांसद विकास कोषको लगानीमा डिजेल प्लान्ट जडान गरिने भएको छ । भारतीय दूतावासको सहयोगमा निर्माणाधीन मेशिन जडान नहुँदै बिग्रिएपछि सदरमुकाम उज्यालो गर्न डिजेल प्लान्ट खरिद गरिएको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले जानकारी दिए ।

नेपालगञ्जदेखि चार दिन लगाएर ज्याक्सन कम्पनीको डिजेल प्लान्ट जुम्ला ल्याइएको छ । प्रतिनिधिसभा सदस्य गजेन्द्र महत (कर्माको) पहलमा खलंगा बजारको अँध्यारो हटाउनका लागि डिजेल प्लान्ट ल्याइएको हो । गत असार ३१ गतेदेखि खलंगा बजार अन्धकारमय भएको थियो । बजारलाई उज्यालो पार्नका लागि रु २४ लाख ७३ हजारको लगानीमा डिजेल प्लान्ट ल्याइएको सासंद महतले बताए । २०० केभीको डिजेल प्लान्टको जेनेरेटरबाट १६० किलोवाट बिजुली उत्पादन हुनेछ ।

जुम्लामा मनाइने जात्रा र अरु ठूला पर्वलाई मध्यनजर गर्दे डिजेल प्लान्ट ल्याइएको महतको भनाइ छ । भारतीय दूतावासको सहयोगमा जडान गरिएका नयाँ जेनेरेटरबाट बिजुली सप्लाई हुन नसकेपछि बिजुलीको वैकल्पिक व्यवस्था गरिएको हो । दुई महीना डिजेल प्लान्ट सञ्चालन भएमा झण्डै रु ५० लाख खर्च हुने अनुमान गरिएको छ ।