बाग्मती

आफ्ना मागबारे चासो नदेखाएपछि माग पूरा गर्न अस्पतालका कर्मचारी आन्दोलित

काभ्रेपलाञ्चोक। सेवा–सुविधबाट वञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ स्थित शिर मेमोरियल अस्पतालका कर्मचारी आन्दोलित भएका छन् ।

आफ्ना मागहित अस्पताल प्रशासन अगाडि बिहीबारदेखि धर्नामा बसेका कर्मचारीले प्रशासन कार्यालयभित्र कसैलाई पनि आवतजावत गर्न दिएका छैनन् । आफ्ना मागबारे पटकपटक अस्पताल प्रशासनसँग पहल गर्दा कुनै चासो नदेखाएपछि आन्दोलनमा उत्रिएको नेपाल स्वास्थ्यकर्मी तथा अस्पताल कर्मचारी युनियनका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

अस्पतालको आयव्यय सार्वजनिक गर्नुपर्ने, कर्मचारीलाई उचित पारिश्रमिक निर्धारण गर्नुपर्ने, प्रशासनिक एकाइमा कर्मचारी युनियनको सहभागिता गराउनुर्नेलगायत माग राख्दै पहिलो चरणमा हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएको अध्यक्ष श्रेष्ठले बताए । “माग सम्बोधन नभएसम्म आन्दोलन गर्नेछौँ”, उनले भने । उनले श्रम अदालतबाट अनुमोदित कर्मचारी युनियनलाई अस्पताल प्रशासनले अवमूल्यन गरेको आरोप लगाए ।

अस्पतालका कर्मचारीमध्ये आलोपालो गरी करीब ६० प्रतिशत आन्दोलनमा सहभागी हुँदै आएका छन् । “अस्पतालका ९८ प्रतिशत कर्मचारी युनियनको मागप्रति समर्थनमा छन्”, अध्यक्ष श्रेष्ठले दाबी गरे । अस्पतालस्थित युनियनमा दुई सय कर्मचारी आबद्ध छन् ।

अस्पताल प्रशासनले बिहीबार हाताभित्र सूचना टाँस गर्दै यूनियनले लगाएको आरोप झुठा भएकाले त्यसका पछि नलाग्न अन्य कर्मचारीसँग आग्रह गरेको छ । “अस्पतालको सामान्य परिस्थितिलाई असामान्य बनाई अस्पतालभित्र कुनै हानिनोक्सानी भएमा त्यसको पूर्ण जिम्मेवारी आन्दोलनतरत पक्षले लिनुपर्ने”, सूचनामा उल्लेख गरिएको छ ।

अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत सूर्यप्रभा शाक्यले दुई दिनदेखि अस्पताल प्रशासन कक्षमा कसैलाई जान नदिएकाले आन्दोलनरत पक्षसँग छलफलमा जाने बातावरण तयार गर्न पहल भइरहेको बताए । उनले भने, “हामी युनियनको मागबारे छलफल गर्न पहल गर्दैछौँ, एक दुईदिन लाग्नसक्छ ।”

गत वर्ष असोजमा पनि यस्तै माग राखेर अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका थिए । त्यतिबेला अस्पताल प्रशासनबाट युनियनको माग सम्बोधन गर्दै जाने आश्वासनसहितको सहमतिपछि आन्दोलन स्थगित गरिएको अध्यक्ष श्रेष्ठले बताए । बनेपास्थित घोकेचौरमा २०१८ सालदेखि सञ्चालनमा आएको उक्त अस्पताल ‘सेभेन्थे–डे एडभेन्टिष्ट अस्पताल’को नामले समेत चिनिने गरिन्छ ।