बाग्मती

असुरक्षित गर्भपतनका कारण वार्षिक सात प्रतिशत महिलाको मृत्यु

हेटौँडा. नेपालमा असुरक्षित गर्भपतनका कारण वार्षिक सात प्रतिशत महिलाको मृत्यु हुने गरेको एक तथ्याङ्कले जनाएको छ । महिला बालबालिका तथा वातावरण सुधार मञ्चको समन्वयमा आसपास नेपालको आयोजनामा भएको अभिमुखी कार्यक्रममा सो जानकारी दिइएको हो ।

कार्यक्रममा उपलब्ध तथ्याङ्कमा नेपालमा ५८ प्रतिशत महिलाले वार्षिक असुरक्षितरुपमा गर्भपतन गराउने गरेको उल्लेख छ । प्रत्येक वर्ष नेपालमा तीन लाख २३ हजार महिलाले गर्भपतन गराउने गरिएको र तीमध्ये ५८ प्रतिशतले असुरक्षितरुपमा गर्भपतन गराउने गरेको बताइएको छ । मकवानपुर जिल्लामा अघिल्लो आर्थिक वर्षमा ८८९ महिलाले सुरक्षित गर्भपतन सेवा लिएकामा गत वर्ष जेठसम्ममा एक हजार ९९ जना महिलाले सुरक्षित गर्भपतन गराएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यो कार्य सकारात्मक हो । हाल मकवानपुरमा सूचीकृत सरकारी स्वास्थ्य संस्था १५ वटा र सूचीकृत निजी तीन वटा संस्थाले सुरक्षित गर्भपतन सेवा सञ्चालन गरेको स्वास्थ्य कार्यालयको एक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनीले सुरक्षित गर्भपतनको सम्बन्धमा महिला र पुरुषलाई सँगै समेट्नुपर्नेमा जोड दिँदै भनीन्, “सुरक्षित गर्भपतनका बारेमा अझै जनचेतना पर्याप्त भइसकेको छैन, त्यसैले यसमा जोड दिनु आवश्यक छ ।”