बाग्मती

उद्योगमा कार्यरत १४४ मजदूर हटाइयो,एकको मृत्यु

हेटौँडा। मकवानपुर जिल्लाको उद्योगहरुमा कार्यरत १४४ जना मजदूरलाई यस वर्ष जागिरबाट हटाइएको छ । साथै एक मजदूरको काम गर्दागर्दै करेण्ट लागेर मृत्यु भएको श्रम तथा रोजगार कार्यालय हेटौँडाले जनाएको छ ।

कार्यालयबाट आर्थिक वर्ष ७५ः७६ को प्राप्त विवरणअनुसार हेटौँडा औद्योगिक क्षेत्रमा रहेको युनिक शोप एण्ड केमिकल्स इण्डस्ट्रिज प्रालि तथा अन्य औद्योगिक प्रतिष्ठानबाट उक्त मजदूर हटाइएको बताइएको छ ।

सोही आर्थिक वर्षमा इनभाइरो प्लाष्ट प्रालीमा कार्यरत मजदूरको विद्युत् चुहिएर मृत्यु भएको हो । साथै उद्योगमा कार्यरत मजदूरले आफ्नो हक र अधिकारका लागि व्यक्तिगत तथा सामूहिकरुपमा करीब १०० उजुरी गरेको बताइएको छ । विवरणमा सो कार्यालयमा परेका उजुरीमध्ये सामूहिक छ वटा तथा व्यक्तिगत नौ वटा उजुरीको फछ्र्यौट गरिएको उल्लेख गरिएको छ ।

कार्यालयका प्रमुख श्यामकुमार श्रेष्ठका अनुसार चितवन र मकवानपुरमा सो कार्यालयमा दर्ता भएका २०६ वटा उद्योग रहेको जसमध्ये मकवानपुरमा ७२ र चितवनमा १३४ वटा उद्योग रहेका छन् । ती उद्योगमा पाँच हजार ७४३ मजदूर रहेको र उनीहरुको अवस्थाबारे अनुगमन हुने गरेको जनाइएको छ ।