प्रदेश 1

तरकारी बाली सुक्न थालेपछि किसान चिन्तित

इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का प्रभु मेहताले पाँच कट्टामा भन्टा खेती गरेका थिए। करीब १५ हजारको लागतमा उनले लगाएको भण्टा एक्कासि सुक्न थालेकाले अहिले उनी चिन्तित भएका छन् । घर खर्च चलाउनका लागि मुख्य स्रोतको रुपमा रहेको तरकारी खेती असार अन्तिम साता आएको बाढीले सखाप बनाएकाले अहिले उनलाई घरपरिवार कसरी चलाउने भन्ने चिन्ताले सताएको छ ।

उजस्तै देवानगञ्ज–५ का भोलाप्रसाद मेहताले समेत पाँच कट्टामा खुर्सानी खेती गरेका थिए । करीब रु ३५ हजारको लागतमा लगाइएको खुर्सानी सुक्न थालेपछि उनलाई पनि चिन्ताले सताएको छ । घरमा भएको रकम र ऋण काढेर लगानी गरेर केही आम्दानी होला र घरपरिवार चलाउँला भन्ने आशामा गरेको व्यवसाय सुक्न थालेपछि अब के गर्ने र कसरी परिवार चलाउने भन्ने चिन्ताले उनलाई पनि सताएको छ ।

महँगो बीउ, मल र मजदूर लगाएर मेहताद्वयले गरेको खेती सुक्न थालेपछि उनीहरुलाई हातमुख जोड्नसमेत समस्या भएको छ । तरकारी खेतीकै भरमा घरपरिवार चलाउँदै उनीहरूले केही कमाउने भन्ने आशले गरेको व्यवसाय चौपट हुन थालेकाले लगानीसमेत नआउने भएपछि उनीहरुलाई हास्नु न रुनुजस्तै भएको हो ।

उक्त गाउँपालिकामा मात्रै बाढीका कारण करीब ५० बिघा तरकारी बाली सुक्न थालेको अनुपम तरकारी कृषि सहकारी सस्ंथाका अध्यक्ष रामवृक्ष मेहताले बताए।

सहकारीबाट लिएको ऋणले तरकारी खेती गरेका कृषकले त्यसैको आम्दानीले ऋण पनि तिर्ने र घरपरिवार पनि चलाउने आशा गरे पनि आशा निरासामा परिणत भएका हुन् ।