प्रदेश 1

बाढी पीडितका घरटहरा निर्माण हुँदै

गाईघाट। असारको चौथो साता आएको पाँच दिनसम्मको भीषण वर्षासँगै बाढीको कारण घरटहरा गुमाएका उदयपुर जिल्लाको बेलका नगरपालिकाका बाढी पीडितहरुका लागि तत्काल नगरपालिकाले पुनस्र्थापनाका लागि घरटहरा निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

बेलका नगरपालिकाले एक बाढीपीडित अनुगमन समिति गठन गरेर बाढीका कारण घरटहरा गुमाएर विस्थापित हुन पुगेकाका लागि पहिलो चरणमा लगत संकलन कार्य सम्पन्नसँगै अब उनीहरुका लागि घरटहरा निर्माण कार्य प्रक्रिया अगाडि बढाएको बेलका नगरपालिकाले बताएको छ ।

बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाका अनुसार झण्डै सय घरपरिवारको बाढीका कारण घरटहरा गुमेको र उनीहरुका लागि तत्काल बसोबास गर्न घरटहरा निर्माण कार्य गर्नुपर्ने भएको कारण नगरपालिकाले यो प्रक्रिया अगाडि बढाएको हो ।

नगरपालिकाले यसका लागि नगपालिकाका विभिन्न स्रोतहरुबाट झण्डै रु पचास लाख तत्काल उपलब्ध गराउने, अन्य प्रदेश सरकार र सङ्घीय सरकारबाट आर्थिक सहयोग जुटाएर बाढीपीडितबाट घरटहरा गुमाएकाहरुका लागि टहरा निर्माण कार्य प्रक्रिया अगाडि बढाएको प्रमुख थापाले बताए ।

बेलकाका बाढीपीडितहरुका लागि सामान्य टहरा निर्माण गर्न पनि झण्डै रु तीन करोड लाग्ने नगरपालिकाको प्राविधिक र अध्ययन समितिको अध्ययनले आँकडा गरेको कारण सोहीको हाराहारीमा बजेट सङ्कलन कार्यसमेत नगरपालिकाले गर्ने कार्य गरिरहेको पनि बेलका नगरपालिकाले बताएको छ ।

बाढीबाट घर गुमाएकाहरुका लागि दुई लाखदेखि तीन लाखसम्मको आर्थिक सहयोगमा नगरपालिकाले टहरा निर्माण गर्न सहयोग प्रक्रिया अगाडि बढाएको छ ।

एकसय ३७ घरपरिवारका लागि राहत वितरण

उदयपुर जिल्लाको मध्य उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाले एक हप्ताअघि हेलीबाट ढुवानी गरेको खाद्यान्न सो गाउँपालिकाको १३७ घरपरिवारलाई वितरण गरेको छ ।

गाउँपालिकाका सबैभन्दा चरम खाद्यान्न सङ्कटमा परेका १३७ घरपरिवारहरुलाई चार हजार १०० किलो चामल, तेल र दाल वितरण गरिएको सो गाउँपालिकाकी उपाध्यक्ष रमिलाकुमारी राईले बताईन ।

लामो समयसम्म खडेरीको कारण मकैबाली नष्ट भएर भोकमरीको चपेटामा परेका सो गाउँपालिकामा केही दिनअघि आएको वर्षाका कारण सो गाउँपालिका जोड्ने सडकमार्गसमेत पहिरोले भत्काएपछि खाद्यान्न ढुवानी हुन नसकेपछि सो गाउँपालिकाका जनता चरम भोकमरीको चपेटामा परेका छन् ।

प्रतिघरपरिवार ३७ किलो चामल, एक किलो दाल र एक किलो नुन वितरण गरिएको सो गाउँपालिकाका कार्यकारी अधिकृत भक्तबहादुर राईले बताए ।