लुम्बिनी

गत वर्षको तुलनामा यस वर्षमा सवारी दुर्घटनामा वृद्धि

दाङ। आर्थिक वर्ष २०७४ः०७५ को तुलनामा आव २०७५ः७६ मा जिल्लामा सवारी दुर्घटना वृद्धि भएको छ । गत आवमा १८४ सवारी दुर्घटनामा १०४ को मृत्यु २३३ को अवस्था नाजुक र १९० सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख तथा प्रहरी नायब निरीक्षक उत्तम जिसीले जानकारी दिए ।

उनका अनुसार ती दुर्घटनामा २५१ सवारीसाधन परेका थिए । आव २०७४ः२०७५ मा भने जिल्लामा १७१ सवारी दुर्घटनामा ७९ को मृत्यु २१५ को अस्था नाजुक, ८५ सामान्य घाइते भएका थिए । ती दुर्घटनामा २२४ सवारी साधन परेको उनको भनाइ थियो ।

गत आवमा सबैभन्दा बढी मोटरसाइकल १२३, बस ३४, ट्र्याक्टर १९, जीप तथा कार ३२, टेम्पो १२, ट्रक १२, टिपर छ, माइक्रोबस एक दुर्घटनामा परेका थिए । चालकको लापरवाहीबाट ९८, तीव्र गतिका कारण ६७, यात्रुको गल्तीका कारण चार, मापसेका कारण पाँच, सडकको अवस्थाका कारण तीन, यान्त्रिक गडबडीबाट पाँच, उछिनेर दुई, मौसमका कारण एक दुर्घटना भएको प्रहरीको अनुसन्धानमा जानकारीमा आएको थियो ।

ट्राफिक प्रहरीले गत आवमा दुर्घटनामा संलग्न ५२ चालकलाई सार्वजनिक मुद्दा दर्ता गरेर कारवाही अगाडि बढाएको थियो । सो अवधिमा प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने ३४ हजार ५१० चालकलाई गरेको कारवाहीमा रु दुई करोड १३ लाख पाँच हजार राजश्वसमेत सङ्कलन भएको उक्त कार्यालयले जनाएको थियो । यसैबीच जिल्लामा सवारी दुर्घटनालाई न्यूनीकरण गर्न प्रहरी, प्रशासन, सरकारी निकाय, व्यवसायी, नागरिक समाज, दलका प्रतिनिधि तथा पत्रकारसमेतले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् ।