अन्तर्राष्ट्रिय

यमनी सिया विद्रोही र जिहादी समूहको छुट्टा– छुट्टै आक्रमणमा ४९ को मृत्यु

एजेन्सी । यमनी सिया विद्रोही र जिहादी समूहहरूले गरेको छुट्टा छुट्टै आक्रमणमा परी यमनका कम्तीमा ४९ जनाको मृत्यु भएको छ । यमनी सरकारको नियन्त्रणमा रहेको देशको दोस्रो ठूलो सहर एडेनमा बिहीबार भएको आक्रमणमा परी उनीहरु मारिएका हुन् ।

लडाकूहरुले आत्मघाती बम आक्रमण र ड्रोनबाट आक्रमण गरेको प्रहरी अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार मृत्यु हुने अधिकांश भर्खरै प्रशिक्षित कनिष्ट प्रहरी थिए । स्वास्थ्य मन्त्रालयका एक जना वरिष्ठ अधिकारी मोहम्मद राबिदले ४९ जनाको मृत्यु भएको र अरु ४८ जना घाइते भएको जानकारी दिएका छन । दुई मध्ये पहिलो आत्मघाती बम आक्रमण जिहादीहरूले प्रहरी कार्यालयमा गरेका थिए । आक्रमणपछि प्रहरीहरू घाइते र मृत अवस्थामा प्रहरी कार्यालयमा भेटिएका थिए ।

त्यस घटनामा परी कम्तीमा दश जना मारिएका थिए भने १६ जना घाइते भएका थिए । ती मध्ये दुई जनाको अवस्था गम्भीर रहेको पाइएको अधिकारीहरुको भनाई छ । दोस्रो आक्रमण भने हुथी विद्रोहीले गरेका थिए । उनीहरुले ड्रोन र प्रक्षेपणबाट प्रहरीको तालिम शिविरमा आक्रमण गरेका हुन् ।