राजनीति

वरिष्ठ नेता खनाल भन्छन् “दुई तिहाइको दम्भ देखाए दुर्घटना हुन्छ”

इलाम । नेपाल कम्यनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले मुलुक समृद्धिको दिशामा अघि बढेको बताएका छन् । आज यहाँस्थित माई नगरपालिकामा नवप्रवेशी कार्यकर्तालाई स्वागत गर्दै उनले सरकारले समुन्नत विकासमा ध्यान दिएकाले अब मुलुकमा विकासको लहर अघि बढेको उल्लेख गरे ।

मुलुक समृद्ध हुनका लागि भौतिक पूर्वाधार र सामाजिक विकासलाई एकैसाथ अघि बढाउन वर्तमान सरकारलाई नेता खनालले आग्रहसमेत गरे । “सरकारले सबै पक्षलाई समेटेर काम गर्नुपर्छ”, उनले थपे, “सबै पक्षलाई समेटे मात्र मुलुकमा दिगो विकास हुन्छ ।” नेता खनालले सरकारले दुई तिहाइको दम्भ र घमण्ड नदेखाइ काम गर्नुपर्ने बताए । “सरकारभन्दा पार्टी ठूलो हो, दुई तिहाइको दम्भ देखाए पार्टी दुर्घटना हुन सक्छ”, उनले भने ।

नेपाली काङ्ग्रेस र समाजवादीबाट प्रवेश गरेका ३० जना भन्दा बढी कार्यकर्ताले नेकपामा प्रवेश गरेका छन् । खनालले नवप्रवेशीलाई स्वागत गर्दै पार्टीले कार्यकर्ता प्रशिक्षण कार्यक्रम चाँडै शुरु गर्नुपर्ने बताए । कार्यक्रममा प्रदेश नं १ प्रदेशसभा सदस्य धिरेन्द्र शर्मा, राम राना, काजीमान कागतेलगायतले आ–आफ्नो धारणा राखेका थिए ।