अन्तर्राष्ट्रिय

बेलायतको आर्थिक वृद्धिमा थप कमी आउने

लण्डन । बेलायतको यूरोपेली यूनियन (इयू)बाट हुने भनिएको बहिर्गमन (ब्रेक्जिट)बारे अन्योल छाइरहेका समय बैंक अफ इङ्ल्याण्डद्वारा सन् २०१९ र २०२० का लागि यस पहिले गरेको प्रक्षेपणभन्दा पनि आर्थिक वृद्धि न्यून रहने जनाएको छ ।

बेलायतको केन्द्रीय बैंकले सम्झौताहिन ब्रेक्जिट भएमा बेलायती मूद्रा पाउण्ड स्टर्लिङको अवमूल्यन हुनुका साथै मुलुकको आर्थिक वृद्धिमा पनि प्रभाव पर्ने जनाएको हो ।

बैङ्कको मौद्रिक नीति समितिका सदस्यहरूको वैठकले शुन्य दशमलब ७५ प्रतिशत कायम गरेको छ । मुद्रास्फीतिको रिपोर्टका साथमा समितिले सन् २०१९ र सन् २०२० मा बेलायती अर्थतन्त्रको वृद्धि १.३ प्रतिशतले हुने बताएको छ । यसअघि बेलायतको केन्द्रीय बैङ्कले क्रमशः १.५ र १.६ प्रतिशत रहने प्रक्षेपण गरेका थिए ।

तर यी कल्पनाले इयूबाट हुने सङ्कटपूर्ण बहिर्गमनबाट बेलायतको अर्थतन्त्रमा ‘सुधार’ का लागि सचेत गराएका छन् ।

बेलायतको प्रधानमन्त्रीमा ब्रेक्जिटका कट्टर पक्षधर बोरिस जोनसन निर्वाचित भएपछि तोकिएकै समयमा अर्थात् आगामी अक्टोबर ३१ मा सम्पन्न गर्ने बताएका थिए । उनले सम्झौताबिहिन अवस्थामा नै इयूबाट बहिर्गमन हुनुपरेमा पनि उक्त मुद्दालाई नलम्बाउने घोषणा गरेका छन् ।

यसले बहुराष्ट्रिय कम्पनीका लगानीकर्ताहरू, जसले बेलायतबाट यूरोपमा व्यापार गरेका छन् र यूरोपबाट बेलायतमा व्यवसाय सञ्चालन गरिरहेका छन्, लाई चिन्तित तुल्याएको छ ।

“सम्झौताहिन ब्रेक्जिट भएमा स्टर्लिङको मूल्य सम्भवत घट्नेछ भने उपभोक्ता मूद्रास्फीति बढ्नेछ र कुल ग्राहस्थ उत्पादन वृद्धिमा न्यूनता छाउनेछ,” बैङ्कको मौद्रिक नीति समितिको पछिल्लो बैठकको निष्कर्ष रहेको छ ।