देश

साइबर अपराध चुनौतीपूर्ण बन्दै: अपराधको निशाना महिला र बालबालिका

चितवन । पछिल्लो समय साइबर अपराध अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाले बताएका छन् । भोटाहिटीस्थित प्रहरी प्रधान कार्यालय साइबर ब्युरोद्वारा यहाँ आज आयोजित महिला तथा बालबालिका विरुद्ध हुने ‘साइवर अपराध सचेतनामूलक कार्यक्रम’मा सहभागी बक्ताहरूले यस्तो बताएका हुन् ।

अहिले विभिन्न सामाजिक सञ्जालबाट हुने गरेका अपराधको निशाना महिला तथा बालबालिका केन्द्रित हुने गरेको सो अवसरमा जानकारी दिइएको थियो । महिला तथा बालबालिकालाई अपराधमा सामेल गर्न सजिलो हुने भएकाले अपराधीले उनीहरुलाई रोज्ने गरेको ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक नवीन्द्र अर्यालले जानकारी दिए ।

उक्त विषयमा कार्यपत्र प्रस्तोता उहाँले ब्यूरोमा एक हजार ४९८ सामाजिक सञ्जाल (फेसबुक) बाट गरिएका अपराधका सम्बन्धमा उजुरी परेको बताए । उजुरी परेसँगै अनुसन्धानका कठिनाइ भएपनि कतिपयमा उजरीमा सफलतासमेत मिलेको उनको भनाइ थियो ।

प्राय कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई सामाजिक सञ्जाल प्रयोग गरी सहजरुपमा फसाउने गरेको उनले बताए । सामाजिक सञ्जालमार्फत चरित्र हत्या, ठगी, बेचबेखिन, फिरौती, धम्की, तस्करीलगायत अपराध हुने गरेको अर्यालले जानकारी दिए ।

अहिले नेपालमा ६३ प्रतिशत जनता इन्टरनेटको पहुँचमा रहेको र तीमध्ये ९८ प्रतिशतले मोबाइलको प्रयोग गर्ने गरेको कार्यक्रममा जानकारी दिइएको थियो । सामाजिक सञ्जालको सही सदुपयोग गर्न नजान्दा आपराधिक क्रियाकलाप बढ्दै गएको पनि उनले जानकारी दिए ।

हेटौँडास्थित प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले साइबर अपराध प्रहरीका लागि चुनौतीपूर्ण बन्दै गएको बताए ।
सो अवसरमा सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मिना खरेलले प्रविधिको सही सदुपयोग गर्न नजान्दा समस्या बढ्दै गएको बताए ।
चितवन जिल्ला प्रहरी काार्यलयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले समाजमा रहेका अपराधी पहिचान गरेर अपराध न्यूनीकरणका लागि नागरिक र प्रहरीबीच हातेमालो गर्नु जरुरी रहेको बताए ।