अन्तर्राष्ट्रिय

बिन लादेनका छोरा हम्जा मारिए – अमेरिकी सञ्चार माध्यम

वासिङ्टन । आतङ्कवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा मारिएको अमेरिकी अधिकारीहरुको भनाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

पछिल्लो समय अमेरिकी प्रशासनको सर्वाधिक खोजीको सूचीमा राखिएका हम्जाले आफू अल–कायदाको नेता भएको बताउँदै आएका थिए ।

अमेरिकी प्रशारण संस्था एनबीसी न्यूजका अनुसार तीन जना अमेरिकी अधिकारीले बिन लादेनका छोरा हम्जाको मृत्यु भएको पुष्टी गरेको जनाएको छ । तर ती अधिकारीहरुले हम्जाका बारेमा थप विवरण दिन अस्वीकार गरेका छन् ।

हम्जाको मृत्युका बारेमा अमेरिकी राष्ट्रपतिको कार्यालयमा पत्रकारहरुले सोधेको प्रश्नमा राष्ट्रपति डोनाल्ड ट्रम्पले एनबीसीको समाचार सही वा गलत भन्ने बारेमा बताउन अस्वीकार गरे ।

राष्ट्रपति ट्रम्पले भन् – यस बारेमा म अहिल्यै केही टिप्पणी गर्न चाहन्न ।

सन् २०१९ फेब्रुअरीमा अमेरिकी विदेश मन्त्रालयले हम्जाको टाउकाको मूल्य १० लाख अमेरिकी डलर तोक्नुअघि नै उनको मृत्यु भइसकेको अनुमान गरिएको छ ।

ओसामा बिन लादेनका २० जना छोराछोरीमध्ये हम्जा १५औं सन्तान हुन् । ओसामाकी तेस्रो पत्नीको कोखबाट जन्मेका हम्जा ३० वर्षको हाराहारीका थिए । अमेरिकी विदेश मन्त्रालयले ओसामाको उत्तराधिकारीका रुपमा हम्जाले अलकायदाको नेतृत्व गर्न थालेको जनाएको छ ।

“जिहादी राजकुमार” का रुपमा समेत लिइने हम्जाले बेलाबखत अडियो र भिडियो सन्देश मार्फत अमेरिका र उसका समर्थक मुलुकमाथि आक्रमण गर्न आह्वान गर्दै आएका थिए । खासगरी सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाको कारबाहीमा आफ्ना बुबा ओसामाको हत्यामा संलग्नमाथि कारबाही गर्ने धम्की हम्जाले दिएको विदेश मन्त्रालयको दाबी छ ।

पाकिस्तानको अबोटाबादमा ओसामाको घरबाट बरामद गरिएका कागजातमा हम्जालाई अल–कायदाको उत्तराधिकारी बनाउन थालेको उल्लेख थियो ।

हम्जाको विवाह सम्बन्धी एक अर्को भिडियोमा हम्जाले अल–कायदाका वरिष्ट व्यक्तिकी छोरीसँग विवाह गरेको देखिएको थियो । उनीहरु दुबै इरानमा बसेको विश्वास गरिएको छ । तर त्यहाँ घरमै नजरबन्द गरिएको हुन सक्ने अनुमान पनि गरिएको छ ।

विश्वमै इस्लामिक जिहाद फैल्याउने मुख्य धरोहरका रुपमा लिइएका हम्जाको हत्या भएको हो भने त्यसले यस आन्दोलनमा ठूलो क्षति पु¥याउने अतिवादी संगठनहरुका विषयमा अध्ययनरत संस्था साइट इन्टेलिजेन्सका कार्यकारी कार्यकारी निर्देशक रिटा काजले बताए ।