देश

उद्यमी हुन चाहने युवा खोज्न व्यस्त नगरपालिका

वालिङ । रोजगारीका लागि ऋण काढेर भएपनि विदेशिनुपर्ने धेरै युवाको बाध्यता छ । तर, रोजगारीका लागि देश छाड्ने युवाको भीडमा एउटा स्थानीय तहले भने उद्यमी हुन चाहने युवा खोज्न व्यस्त छ ।

वालिङ नगरपालिकाले देशभित्रै उद्यमी बनेर काम गर्नसक्ने युवाको खोजी गरिरहेको हो । आगामी ९ महीनाभित्र एक हजार युवालाई उद्यमी बनाइने उद्देश्यले नगरपालिकाले त्यस्ता उद्यमी हुन चाहने युवाको खोजी गरिरहेको छ । दियालो गैरसरकारी संस्था, वालिङ नगरपालिका र युनएनडिपीबीच भएको सम्झौताअनुसार सो उद्यमी बन्न चाहने युवाको खोजी गर्न लागिएको हो ।

स्मार्टसिटीको परिकल्पनाअनुसार अगाडि बढेको सो नगरपालिकाबाट रु एक करोड, युनडिपीबाट रु एक करोड गरी दुई करोडको लागतमा महिलाद्वारा सञ्चालित दियालो गैरसरकारी संस्थामार्फत ‘मोडेल प्रोजेक्ट’ का रुपमा यो कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

“वालिङ नगरपालिकाभित्रका युवालाई वैदेशिक रोजगारमा जाने दरलाई न्यूनीकरण गर्न र आफ्नै ठाउँमा उद्यमी बन्नतर्फ आकर्षित गर्ने उद्देश्यले ‘मोडेल प्रोजेक्ट’ को थालनी गरेका हौँ”, नगर प्रमुख दिलीपप्रताप खाँणले भने, “अब स्थानीयलाई उत्पादनसँग जोड्छौँ र कृषि तथा पशुजन्य उत्पादनको सङ्कलनका लागि हरेक टोलमा एउटा सङ्कलन केन्द्र स्थापना र हरेक वडामा एउटा विषादी परीक्षण गर्ने ल्याब स्थापना गर्ने र जसले विषादीरहित तरकारी उत्पादन गर्छ, उसलाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने पद्धतिको विकास गर्ने योजना रहेको छ ।”

“गाउँका युवा धनी नभइकन देशमा समृद्धि आउँदैन, समृद्धिका लागि सबै जना आयआर्जनमा जोडिनु अति आवश्यक छ”, वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले भने, “वालिङ नगरपालिका र युनडिपीको सहयोगमा दियालोमार्फत विशेष गरी कृषि र पशुपालनका क्षेत्रमा ‘मोडेल प्रोजेक्ट’ सञ्चालनको थालनी गरेका हौँ, यो अभियान दीर्घकालीन हुन्छ, अहिले शुरुआती चरणमात्रै हो ।”

सरकारले अगाडि सारेको दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यमध्ये यस अभियानमार्फत पाँच वटा लक्ष्य पूरा गर्ने विश्वास नगर प्रमुख खाँणको छ । “नगरपालिकाभित्र ३१० वटा गाउँ छन् भने २०० वटा टोल छन्, ३१० मध्येका गाउँहरुलाई नजिकैका टोलमा समावेश गरी सहकारीमार्फत टोलवासीलाई लगानी गर्ने योजनामा छौँ”, नगर प्रमुख खाँणले भने, “दुई सय टोलमा अहिले झण्डै ४० वटा सहकारी सञ्चालनमा छन् बाँकी रहेका टोलमा कृषि र पशुका क्षेत्रमा काम गर्ने गरी नयाँ सहकारी दर्ता गरी अगाडि बढ्छौँ ।”

नगरपालिकाका– १४ वटै वडामा वडाध्यक्षको संयोजकत्वमा हरेक क्षेत्रको प्रतिनिधित्व हुने गरी सात सदस्यीय समिति बनाइने नगर प्रमुख खाँणले बताए । “नगरभित्रका सबै ठाउँको माटो एकै किसिमको छैन”, नगर प्रमुख खाँणले भने, “माटो परीक्षण गरी कुन ठाउँमा कुन खेती गर्दा राम्रो हुन्छ त्यसैमा प्राथमिकता दिएर खेती विस्तार गरिनेछ ।”

नगरपालिकाले कृषि उपकरण खरीद गर्ने, कृषकलाई सहुलियत दरमा बीउ पूँजी वितरण गर्ने, गाउँमा स्थापना भएका प्रत्येक सहकारीले कम्तीमा पनि ३० प्रतिशत कारोवार कृषि क्षेत्रमा गर्नुपर्ने नीति बनाउने उनले बताए ।

अबको दुई वर्षभित्र आयात प्रतिस्थापन गरी यहाँ कृषि तथा पशुजन्य उत्पादनलाई देश तथा विदेशमा पुर्‍याउनका लागि ‘वालिङ प्रोडक्ट अफ मार्ट’ स्थापना गर्ने र त्यहीमार्फत बिक्री वितरणको व्यवस्था मिलाइने नगर प्रमुख खाँणले बताए ।

सातवटै प्रदेशमा १४ वटा पालिकामा यो अभियान सञ्चालन हुनेमा गण्डकी प्रदेशबाट पोखरा महानगरपालिका र वालिङ नगरपालिका यस अभियानमा छनोट भएका युएनडिपी गण्डकी प्रदेश प्रमुख सुदीप अर्यालले बताए ।

अर्यालले दिगो विकास लक्ष्यप्राप्तिका लागि सरकारले सन् २०३० सम्ममा १७ वटा लक्ष्य पूरा गर्नुपर्ने सम्झौता गरेको र सोहीअनुसार अहिले स्थानीय सरकारसँगै सहकार्य गर्दै योजना सम्पन्न गरिने बताए ।

यो अभियानअन्तर्गत सीप, तालीम र कृषिउद्यम विकासद्वारा आर्थिक सशक्तीकरणमा जोड दिइने दियालो गैरसरकारी संस्थाकी अध्यक्ष कविता तिवारीले बताए ।

‘मोडेल प्रोजेक्ट’ अभियानको मुख्य उद्देश्य वैदेशिक रोजगारी न्यूनीकरण गर्ने र युवालाई स्वदेशमै उद्यमी बन्नेतर्फ अभिप्रेरित गरिने रहेको छ”, अध्यक्ष तिवारीले भने, “युवा तथा कृषकलाई वैज्ञानिक खेतीप्रणालीका बारेमा तालीम, आवश्यक बीउबिजन, आधुनिक कृषि औजार, सहुलियत कर्जामा ऋण उपलब्ध गराई आर्थिकरुपमा सबल र सक्षम बनाउने रहेको छ ।” यो अभियान आगामी चैतमा सकिने र पुनःनवीकरण गर्दै निरन्तररुपमा अगाडि बढ्ने अध्यक्ष तिवारीले बताए ।