सुदूरपश्चिम

वनबिनास र वन्यजन्तु अपराधका घटनाहरु कम हुँदै

लम्की । कैलाली जिल्लामा वनबिनास र वन्यजन्तु अपराधका घटनामा कमी आएको छ । कैलाली डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेलले आर्थिक वर्ष २०७५।०७६ मा चितुवा र बाघको तस्करी शून्यमा झरेको बताए ।

आर्थिक वर्ष २०७५।०७६ उक्त कार्यालयमा काठ चोरी निकासीमा संलग्न ६ जना पक्राउ परेकामा दुई वटा मात्रै मुद्दा दायर गरिएको उनले जानकारी दिए।

आर्थिक वर्ष २०७४।०७५ मा बाघको आहारा प्रजाति तस्करीमा संलग्न छ र काठ चोरी तस्करीमा संलग्न नौ जना पक्राउ परेकामा पाँच वटा मुद्दासमेत चलाइएको थियो ।

आव २०७३।०७४ मा बाघको आहारा प्रजाति (चित्तल, जरायो, रतुवा, बँदेल, खरायो आदि) तस्करीमा संलग्न आठका साथै काठ चोरी तस्करीमा संलग्न ३३ जना पक्राउ परेका थिए भने आव २०७२।०७३ मा बाघको आहारा प्रजाति तस्करीमा संलग्न ११ र वन अतिक्रमण तथा काठ चोरी तस्करीमा संलग्न ८३ जना पक्राउ परेका थिए । तीमध्ये ३७ जनालाई चलाइएको थियो ।

आव २०७१।०७२ मा गैँडा तस्करीमा संलग्न तीन, बाघ तस्करीमा संलग्न पाँच, बाघको आहारा प्रजाति तस्करीमा संलग्न २४, काठ चोरी सिकारीमा १३३, जडीबुटी तस्करीमा एक र वन अतिक्रमणमा संलग्न पाँच गरी १७१ पक्राउ परेका थिए । सो वर्ष जिल्ला वनले ७५ जनामाथि मुद्दा चलाएको थियो ।

वन अधिकृत कँडेलले भने, “पछिल्लो समय जिल्लामा वन र वन्यजन्तु अपराधका घटनामा कमी आएको तथ्याङ्कले देखाएको छ ।” उनका अनुसार कैलालीको सीमासम्म जोडिएको जिल्ला भएकाले वन्यजन्तु तस्करीको बाटो बन्दै गए पनि सबैको सक्रियताले न्यूनीकरणमा सहयोग पुगेको हो ।

“संरक्षण क्षेत्र बाहिर वन्यजन्तुको आवतजावत बढी हुने, मानव तथा वन्यजन्तुबीच द्वन्द्व हुनु, जैविक मार्गको पुनःस्थापना नहुनु र स्थानीय जनताको प्राकृतिक स्रोतमाथि अधिक निर्भरताका कारण पनि वन्यजन्तु अपराधका घटना बढ्छन्”, वन अधिकृत कँडेलले भने, “संरक्षण शिक्षा र जनचेतनाका कार्यक्रम गर्नुपर्छ, शहरीकरण, अतिक्रमण, अवैध चोरी निकासी तथा पैठारी, वन डढेलो नियन्त्रणमा स्थानीयवासीको पनि सहयोग चाहिन्छ।”

उनले सडक निर्माण जस्ता कार्यले वन्यजन्तु आवतजावत हुने सडक क्षेत्रमा ‘अन्डरपास’ र ‘ओभरपास’को व्यवस्था नहुँदा पनि वन्यजन्तुको शिकार बढेको बताए ।उक्त कार्यालयको तथ्याङ्कमा दुर्घटनामा वन्यजन्तु मृत्युको सङ्ख्यासमेत शून्यमा झरेको थियो ।

कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग वसन्ता करिडोर क्षेत्रमा परेपछि वन्यजन्तुको बासस्थानमा असर पर्ने भन्दै करीब दुई किलोमिटर बाटो निर्माण रोकिएको उक्त कार्यालयले जनाएको छ ।