गण्डकी प्रदेश

तनहुँको पाँच वडामा बर्थिङ सेन्टर स्थापना

तनहुँ । तनहुँको भानु नगरपालिका कार्यालयले पाँच वटा वडामा बर्थिङ सेन्टर स्थापना गरेको छ । बाह्र वटा वडा कार्यालय रहेको यस नगरपालिकामा पहिलो चरणमा वडा नं ११ रुपाकोट स्वास्थ्य चौकी, वडा नं भानु स्वास्थ्य चौकी, वडा नं पुरानडिही प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं ज्यामरुक स्वास्थ्य चौकी र वडा नं वसन्तपुर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गरिएको छ ।

भानु नगरपालिकाको १२ वटै वडामा स्वास्थ्य एकाइ स्थापना भइसकेकाले क्रमिकरुपमा सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गर्ने लक्ष्य रहेको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिए । कतिपय स्वास्थ्य चौकीमा जग्गाको अभाव, ऐलानी जग्गाका कारण पनि बर्थिङ सेन्टर स्थापना गर्न नसकिएको हो । उनले भने, “बर्थिङ सेन्टरमा आएर शिशु जन्माउनेलाई प्रोत्साहनस्वरुप एम्बुलेन्स सेवामा निःशुल्क व्यवस्था मिलाइएको छ ।”

नगरपालिकाले यही भदौ १ गतेदेखि लागू हुने गरी कार्यविधि तयार गरेको छ । आमा र नवजात शिशु दुवैको स्वास्थ्य सुरक्षा राख्न र घरमै प्रसूति गराउनेलाई निरुत्साहित गर्न एम्बुलेन्स भाडा नगरपालिकाले तिर्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य संस्थामा आई प्रसूति गराउनेलाई रु दुई हजार प्रोत्साहन भत्ताको व्यवस्था गरिएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुवास रेग्मीले बताए । गर्भवती भएको समयमा चारपटक स्वास्थ्य संस्थामा गई स्वास्थ्य जाँच गराउने महिलालाई रु ८०० दिने व्यवस्था गरिएको छ । उनले भने, “प्रोत्साहन रकमसँगै न्यानो झोला पाइने भएपछि स्वास्थ्य संस्थामा आएमा प्रसूति गराउने सङ्ख्यामा वृद्धि हुने विश्वास गरिएको छ ।’’

स्वास्थ्य संस्थामा प्रसूति गराउन आउने आमा र शिशुको स्याहारमा सहयोग पुर्‍याउने उद्देश्यले सरकारले नै न्यानो झोला उपहार दिने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । न्यानो झोला कार्यक्रमअन्तर्गत आमालाई एक जोर लुगा, बच्चालाई टोपी र नेम्फिन दुई।दुई जोरको रहेको छ ।

स्वास्थ्य केन्द्रमा गई प्रसूति गराउन उत्प्रेरित गर्ने उद्देश्यले भानु नगरपालिकाले नगरपालिकाभित्र सञ्चालित बर्थिङ सेन्टरमा एम्बुलेन्स सेवा निःशुल्क व्यवस्था मिलाएको भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीले बताए । “यस किसिमको अभियानले नगरपालिका भित्रका महिलाहरुले राहातको महसुस गर्ने अपेक्षा लिइएको छ ।”