पर्यटन/संस्कृति

भूकम्पले भत्किएको मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण हुन सकेन

ललितपुर । भूकम्प गएको चार वर्ष वितिसक्दा पनि ललितपुरको प्रसिद्ध मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण हुन सकेको छैन ।

श्रीलङ्का सरकारको आर्थिक सहयोगमा निर्माणाधीन यो मन्दिरको पुनर्निर्माणका लागि तोकिएको समयसीमा सकिएर थप भएको अवधिमा समेत ३५ प्रतिशतको हाराहारीमा मात्रै काम भएको छ ।

ठेकेदार कम्पनीबीचको आपसी विवादका कारण अहिले निर्माणको काम ठप्प भएको पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयले जनाएको छ ।

बुङ्मतीमा रहेको सो मन्दिर विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेपछि यसको निर्माणको जिम्मेवारी तीन ठेकेदार कम्पनीले पाएका थिए । तर शुरुदेखि नै निर्माणको कामले गति लिन सकेको थिएन । सो मन्दिर पुनर्निर्माणको जिम्मेवारी प्रेरा भेगिम, थेगिस र तुलसी कन्सट्रक्शन जेभीले लिएको कार्यालयका प्रमुख काजीमान प्याकुरेलले जानकारी दिए । ठेकेदार कम्पनीले २ वर्षमा पूरा गर्ने गरी असारमा भ्याटसहित ४ करोड ७४ लाख ४५ हजार १६ रुपैयाँमा ठेक्का पाएको हो ।

ठेक्का अवधिभित्र निर्माणको काम अघि बढाउन नसकेपछि सरकारले ती कम्पनीलाई नै नौ महिनाको समयावधि थपिएको थियो । ठेकेदार कम्पनीसँग छ महिना समयावधि रहे पनि काम सञ्तोषजनक नरहेको उनको भनाइ छ । २०७५ साल फागुनको पहिलो सातासम्म यी तीन कम्पनीले काम गर्न नसकेपछि फागुन १३ को निर्णयले थेगिसलाई हटाएर प्रेरा र तुलसी कन्सट्रक्शनलाई मन्दिर निर्माणको जिम्मेवारी दिइएको थियो ।

सो मन्दिर निर्माणका लागि उठेको कूल रु पाँच करोड रकममा थेगिसले दुई करोड ८१ लाख लिएर रु दुई करोड ७२ लाख बराबरको काम गरेको प्याकुरेलले बताए । थेगिस कन्सट्रक्शनसँग रातो मच्छिन्द्रनाथको पुरातात्विक महत्वका वस्तु मेथ, कार्नेश लगायतका सामग्री छन् । प्याकुरेलले भने, “मन्दिरको तेह्रदेखि चौध सय वर्ष पुराना यी वस्तुहरु पुनः प्रयोग गर्न मिल्ने हुँदा उपलब्ध गराइदिन हामीले माग गरेका हौँ ।”

विसं २०७२ माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुङ्मतीबाट मन्दिर पुनर्निर्माणको शुरुआत गरे तापनि हालसम्म यहाँको मन्दिर निर्माणको अवस्था भने अझै अन्योलमा नै रहेको छ । पहिले ठेकेदार कम्पनीले सो मन्दिर निर्माणका काममा सामग्रीको अभावलगायतका कारण देखाउँदै आए तापनि सामग्रीको सम्पूर्ण व्यवस्था भएपछि काममा सुस्तता नै देखाएको देखिन्छ । मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणको जिम्मेवारी जुनसूकै कम्पनीले लिए पनि त्यसमा पुरानै मौलिकता झल्किनुपर्ने स्थानीयवासीको माग छ ।

शिखरशैलीको यो मन्दिर निर्माणमा ३६ फिट लामो काठको खाँचो पर्छ । उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रातो मच्छिन्द्रनाथको जात्रालाई मानिन्छ । जावलाखेलमा भोटो जात्रा सकिएपछि मच्छिन्द्रनाथलाई बुङ्मतीको यही मन्दिरमा लगेर राखिने गरिन्थ्यो । तर भूकम्पपछिको क्षतिका कारण हाल मन्दिर अभावका कारण मच्छिन्द्रनाथलाई अर्को स्थानमा सारिएको छ ।

सो मन्दिरको पुनर्निर्माणमा ढिलाइ हुँदा बुङ्मतीका जनतालाई विभिन्न चाडपर्वमा असर परेको स्थानीयवासी रामचन्द्र शाक्यले जानकारी दिए । उनले भने, “हामीले वर्षभर गर्ने चाडपर्व रातो मछिन्द्रनाथ कतै न कतै जोडिनुहुन्छ, तर मन्दिरको निर्माण नसकिँदा ती चाडपर्व खल्लो भएको छ ।”

मन्दिरको पुनर्निर्माण शुरु हुनासाथ ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभावलगायतका कारण देखाएर ढिलाइ गरेको हो । निर्माणमा प्रयोग भएको इँट्टामा अङ्ग्रेजी लेखिएको भन्दै स्थानीयवासीसमेत असन्तुष्ट बनेका थिए । त्यसपछि पनि पुरातत्व विभाग वा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि जाँदा काम गर्ने गरे पनि अरू समयमा त्यति काम हुन नसकेको कार्यालयले जनाएको छ ।

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको मच्छिन्द्रनाथको जात्रा मानिन्छ । जावलाखेलमा भोटो जात्रा सकिएपछि देवतालाई यही मन्दिरमा राख्ने गरिन्छ । देवता बुङमतीमा रहँदा विभिन्न पर्व पर्छन् । वर्षभर हुने जात्रा पर्वमा मच्छिन्द्रनाथका पानेजुहरु पालैपालो मन्दिरमा बस्ने गरेका छन् । मन्दिरको पुनर्निर्माण नसकिँदा यहाँ भएका विभिन्न सामग्रीहरुसमेत सुरक्षा गर्न गाह्रो भएको स्थानीयवासीले बताउँदै आएका छन् ।

अहिले मच्छिन्द्रबहाल लथालिंग अवस्थामा छन् । मन्दिर पछाडिको डबलीमा मच्छिन्द्रनाथ राख्न टहरा बनाइएको छ । मच्छिन्द्रनाथका बहुमूल्य गरगहना टहरामै राखिएका छन् ।