देश

बाढीले ६ हजार मिटर तटबन्ध बगायोः १५ करोडभन्दा बढीको क्षति

गौशाला । जिल्लाको रातु, मरहा र औरही नदीमा आएको बाढीले ६ हजार ११२ मिटर तटबन्ध बगाएको छ । जनताको तटबन्ध फिल्ड कार्यालय २ महोत्तरीका अनुसार रातु नदीले चार हजार १७ मिटर, औरही नदीले दुई हजार ५० र मरहा नदीले ४५ मिटर तटबन्ध तथा रिभेटमेन्ट बगाउनाका साथै क्षतिग्रस्त बनाएको छ ।

सोबाट रु १५ करोड २३ लाख ८१ हजार मूल्य बराबरको क्षति भएको छ । मरहा नदीले बर्दिवास नगरपालिका–१० स्थित जुठेडाँडा, वडा नं ५ टुटेश्वर र खयरमारामा ४५ मिटर तटबन्ध तथा रिभेटमेन्ट बगाएका कारण १८ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ ।

त्यस्तै औरही नदीले भङ्गहा नगरपालिका–९ कञ्चनवनमा १५० मिटर, लोहारपट्टी नपा–३ तपनपुरमा १०० मिटर र वडा नं २ बगडामा ४०० मिटर तटबन्ध बगाएको छ ।

त्यसैगरी धनुषाको क्षीरेश्वर नपा–५ महेन्द्रनगरमा ४५०, बटेश्वर गापा–५ धारटोलमा ६५०, बरदुवामा १५० र गदरिया पुल नजिकै १५० मिटर तटबन्ध बगाएका छन् । जसबाट रु एक करोड ४२ लाख ९० हजारको क्षति पुगेको छ ।

त्यस्तै रातु नदीले बर्दिवास नगरपालिका–६ को ६ स्थानमा ९८० मिटर तटबन्ध र रिभेटमेन्ट क्षतिग्रस्त बनाएको छ भने बर्दिवास नपा–९ पशुपतिनगरको पाँच स्थानमा एक हजार १३० मिटर तटबन्ध बगाएको छ ।

त्यस्तै भङ्गहा नपाको हतिसर्वा र सिङ्ग्याही–४ स्थानमा ३८० मिटर तटबन्ध बगाएको छ । त्यस्तै बलवा नपा–११ भलनी भगवतीपुरको ६ स्थानमा ४५० मिटर तटबन्ध बगाएको छ ।

त्यसैगरी लोहारपट्टी नपाको डठौरा र लोहारपट्टीको चार स्थानमा ४३० मिटर तटबन्ध बगाएको छ । त्यस्तै एकडारा गाउँपालिका–६ को कोल्हुवा, बगेया, दुधमुहान र पुनर्वासटोलको सात स्थानमा ४१२ मिटर तटबन्ध बगाएको छ ।

महोत्तरी गाउँपालिका–३ मलङ्गस्थान, दुधान लगायतको ६ स्थानमा ३८० मिटर तटबन्ध बगाएको हो । यसरी रातो नदीको बाढीबाट ६ करोड नौ लाख ६२ हजार मूल्य बराबरको तटबन्ध क्षतिग्रस्त भएको हो । क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणका लागि बजेटको अभाव भएको जनताका तटबन्ध फिल्ड कार्यालय २ महोत्तरीका प्रमुख भिलानन्द यादवले बताए ।

उनले तटबन्धको पुनर्निर्माणका लागि जिल्ला दैवी प्रकोप उद्धारमार्फत बजेट उपलब्ध गराउनका लागि विभागमा पत्राचार गरिएको बताए ।