समाचार

अन्तरराष्ट्रिय युवा दिवस साताव्यापीरुपमा मनाइने

काठमाडौँ । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस साताव्यापीरुपमा मनाइने भएको छ ।

आगामी २७ गते मनाउन थालिएको दिवस युवा तथा खेलकूद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्को संयुक्तरुपमा मनाइन थालिएको हो । यस वर्ष दिवसको अन्तरराष्ट्रिय नारा ‘शिक्षामा रुपान्तरण’ र नेपालको नारा ‘शिक्षामा रुपान्तरणः उद्यमशीलता र नवप्रवर्तन’ रहेको छ ।

गुणस्तरीय र व्यावसायिक शिक्षाका माध्यमबाट शिक्षामा रुपान्तरण गर्ने र सोको प्रतिफलस्वरुप युवामा उद्यमशीलताको विकास, स्वरोजगार र नवप्रवर्तनमा टेवा पुर्‍याएर राष्ट्रिय लक्ष्यसँग जोड्ने अभिप्रायका साथ नेपालको नारा तय गरिएको परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार दिवसका अवसरमा मन्त्रालय र परिषद्को आयोजनामा विभिन्न युवा लक्षित कार्यक्रम हुने भएका छन् । दिवसलाई सफल पार्नका लागि खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को संयोजकत्वमा २०१ मूल समारोह समिति र परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलको संयोजकत्वमा १७ सदस्यीय सचिवालयको समेत गठन गरिएको छ ।

दिवसका अवसरमा साउन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी विभिन्न कार्यक्रमसमेत गरिने भएको परिषद्का सूचना अधिकारी ध्रवराज पौडेलले जानकारी दिए ।

दिवसलाई देशव्यापीरुपमा मनाउन प्रदेश सरकार र स्थानीय सरकारसहित विभिन्न सरकारी तथा गैरसरकारी निकायलाई आआफ्नो स्थानमा नेपालले तय गरेको नारासँग सम्बन्धित रहेर विभिन्न स्थानमा मौलिकरुपमा मनाउन अनुरोधसमेत गरेको परिषद्का उपसचिवसमेत रहनुभएका पौडेलले जानकारी दिए ।

दिवसको अवसरमा प्रधानमन्त्री प्रतिभा पुरस्कार घोषणा र वितरण, युवा प्रतिभा तथा उद्यमी सम्मान कार्यक्रम, युवा संवाद कार्यक्रम, युवा उद्यमी सिर्जना कक्ष प्रदर्शनी, युवालाई उत्प्रेरणा र सकारात्मक सन्देश दिन सांस्कृतिक कार्यक्रमसमेत राखिएको छ ।

यसैगरी साउन २७ र २८ गते दुई दिनसम्म युवा उद्यमी कार्यक्रमसमेत गरिने भएको छ । यसैगरी दिवसका अवसरमा वाग्मती सफाइ अभियान, खेलकूद कार्यक्रम र रेडियो तथा टेलिभिजनमा युवाको अवस्था, सम्भावना र अवसर सम्बन्धमा परिसंवाद कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ ।

नेपालमा सन् २००४ र अन्तरराष्ट्रिय दिवस सन् २००० देखि मनाउन थालिएको हो । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तरराष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

युवाका मुद्दाका पक्षमा आवाज मुखरित गर्ने उद्देश्यले दिवस मनाउन थालिएको हो । नेपालको संविधानमा उल्लेखित युवासँग सम्बन्धित व्यवस्थालाई युवाको पक्षमा कार्यान्वयन गर्नु राष्ट्रिय युवा नीति–२०७२, युथ भिजन–२०२५ तथा अन्तरराष्ट्रिय कानून र युवालक्षित मुद्दा कार्यान्वयन गर्न स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा आवाज बुलन्द गर्नु दिवसको उद्देश्य रहेको परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी दिए । नेपालमा विसं २०६८ को जनसङ्ख्याका आधारमा अहिले ४०.३ प्रतिशत युवा रहेका छन् ।