उर्जा

जेनेरेटरको समस्याका कारण एक सातादेखि विद्युत् सेवा वन्द

मार्तडी । सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको जेनेरेटरमा खराबी आउँदा एक सातादेखि विद्युत् सेवा नियमित हुनसकेको छैन । साउन ८ गते दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा एक हजार ३०० बढी ग्राहकले नियमितरूपमा बत्ती बाल्न पाएका छैनन् ।

विद्युत् सेवा सञ्चालन भइरहेको बेला एकाएक जेनेरेटरमा खराबी आएपछि अवरुद्ध बनेको विद्युत् सामान्यरूपमा सञ्चालन भए पनि जेनेरेटरले कम विद्युत् उत्पादन गर्ने भएकाले विद्युत् सेवा नियमति हुन नसकेको जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताएका छन ।

विद्युत्गृहमा रहेको उक्त मेसिन बनाउन भारतबाट दक्षकर्मी ल्याइसकेकाले नियमित विद्युत् सञ्चालन हुन अझ एक साता लाग्ने पण्डितको भनाइ छ । विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लामा सरकारी तथा गैरसरकारी सस्ंथाका दैनिक काम र जिल्लामा सञ्चालन हुँदै आएका विद्युतीय सञ्चारमाध्यममा समेत बाधा पुगेको छ ।

मार्तडीमा सञ्चालन हुदै आएका दुई रेडियो र अन्य पत्रपत्रिकाको काममा समेत बाधा पुगेको बडीमालिका खबरका अनलाइन प्रकाशक प्रकाश सिंहले बताएका छन । विद्युत् नियमित नहुँदा कार्यालयमा आएका सेवाग्राही पनि मर्कामा परेका छन् ।

चार लाख बढीको जग्गादान

बाजुराको बुढीनन्दा नगरपालिका–९ बस्ने गोर्खे रावतका छोरा बिर्ख रावतले गुम्बा निर्माणका लागि दुई रोपनी जग्गादान गरेका छन । साविकको बाँधु गाविस–३ बस्ने रावतले हाल बुढीनन्दा नगरपालिका–९ अगाउपानीमा जग्गा दान गरेको नेपाल भोटे जनजातिका केन्द्रीय उपाध्यक्ष ओमकार बोगटीले जानकारी दिएका छन ।

जग्गदान गर्ने बिर्ख रावत र श्रीमती अवकति रावतको नाममा रहेको एक हजार ४०६ वर्ग्मिटर अर्थात् रु चार लाख नौ हजार ५०० बराबरको जग्गादान गरेको बोगटीले बताए । नगरपालिका–९ पाण्डुसनमा रहेको अगाउपानीमा नेपाल भोटे जनजातिको प्रसिद्ध धार्मिकस्थल गुम्बा जीर्ण र पुरानो अवस्थामा रहेकोले पुनःनिर्माणका लागि जग्गादान गरिएको जग्गादाता रावतले बताएका छन ।

भोटे जनजातिका केन्द्रीय उपाध्यक्ष बोगटीका अनुसार सोही ठाउँमा भोटे जनजातिले पूजाआराधना गर्दै आएको ठाउँमा नयाँ गुम्बा निर्माण भइसकेको छ ।