आर्थिक

भन्सार प्रशासनलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले भन्सार प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन । भन्सार विभागले आज बिहान राजधानीमा गरेको भन्सार व्यवस्थापन गोष्ठीको उद्घाटन कार्यक्रममा उहाँले भन्सार प्रशासनसँगै सीमा प्रशासनलाई प्रभावकारी बनाउन अपरिहार्य भएको बताएका हुन ।

उहाँले हरेक भन्सार विन्दुमा प्रविधि र पूर्वाधार विकास गर्न सरकार क्रियाशील रहेको जानकारी दिँदै उद्यमी, व्यवसायी र राष्ट्रिय अर्थतन्त्रको उन्नयनका निम्ति कानूनी एवं संरचनागत सुधारमा लागेको बताए ।

राष्ट्रिय पूँजी निर्माणमा निजी क्षेत्रलाई आह्वान गर्दै अर्थमन्त्री डा खतिवडाले भन्सार र व्यापारका पूर्वाधार बनाउन र सुस्तगतिमा भइरहेको औद्योगिकीकरणलाई दु्रतगतिमा बढाउन सार्वजनिक निजी साझेदारी आवश्यक भएको विचार व्यक्त गरेका छन । उनले भने “कर सुविधा प्राप्त एवं संरक्षित क्षेत्रमा लगानी गरेर उद्योग÷व्यवसायलाई बढावा दिनेतर्फ लाग्नुहोस्, राष्ट्रिय अर्थतन्त्र प्रवद्र्धनमा हामी सघाउन तत्पर छौँ ।”

अर्थमन्त्रीले चोरी निकासी पैठारी नियन्त्रणमा इमान्दारीपूर्वक लाग्न सम्बद्ध पक्षलाई निर्देशन पनि दिएका छन । अर्थसचिव राजन खनालले कारोवारमा आधारित भन्सार प्रणाली क्रमशः विकास गर्दै जाने सरकारको नीति रहेको जानकारी दिँदै बिल बिजकका समस्या उद्यमी–व्यवसायीबाट उत्पन्न हुन नहुनेमा जोड दिए ।

विभागका महानिर्देशक रामेश्वर दङ्गालले भैरहवा, नेपालगञ्ज, विराटनगर र वीरगञ्जजस्ता ठूला र देशभरका २४ वटा भन्सार कार्यालयलाई आर्थिक गतिविधिका लागि बैंकिङ कारोवारमा रूपान्तरण गरिएको बताएका छन ।