खेलकुद

कञ्चनपुरको वेदकोट नगरपालिकामा सुविधासम्पन्न कभर्डहल निर्माण

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–३ मा रु एक करोड ५० लाख लागतमा सुविधासम्पन्न कभर्डहल निर्माण गरिएको छ । राष्ट्रियस्तरका खेलकूद प्रतियोगिता सञ्चालन गर्न र राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नका लागि कभर्डहल निर्माण गरिएको हो ।

कभर्डहलमा दुई ड्रेसीङ रुम, शौचालयलगायतका संरचना निर्माण गरिएको नगरप्रमुख अशोककुमार चन्दले बताएका छन । “कभर्डहलको बाह्य संरचना निर्माण भएर तयार भएको छ”, उनले भने “भित्री संरचना बनाउन अझै बाँकी छ ।” चालू आवमा भित्री सबै संरचना बनाएर कभर्डहललाई सञ्चालनमा ल्याइने उनले बताएका छन । कभर्डहलको लम्बाइ ४० फिट र चौडाइ ३० फिट रहेको छ ।

कभर्डहलसँगै आठ बिघा क्षेत्रफलको खेलमैदानसमेत रहेको छ । विसं २०७४ मा कभर्डहल निर्माणकार्य शुरु गरिएको थियो । नगरपालिकाले प्रत्येक वडामा एक खेलमैदान बनाउनका लागिसमेत काम अगाडि बढाएको बताएको छ ।

सिसीटिभी क्यामेरा जडान

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा सिसीटिभी क्यामेरा जडान गरिएका छन् । रु चार लाख ६४ हजार लागतमा नगरपालिका कार्यालयमा सिसीटिभी क्यामेरा जडान गरिएका हुन् । कामप्रति कर्मचारीलाई उत्तरदायी र अनुशासित बनाउनका लागि सिसीटिभी क्यामेरा जडान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसनसिंह थापाले बताएका छन ।

“कर्मचारीको गतिविधिमाथि निगरानी बढाउनुका साथै काम चुस्तदुरुस्त बनाउनका लागि सिसीटिभी क्यामेराले सहयोग पुर्याईनेछ भन्ने उद्देश्य लिएका छौँ”, अधिकृत थापाले भने “नगरपालिका परिसर क्षेत्रको गतिविधिमाथिसमेत निगरानी राख्न सकिने गरी क्यामेरा जडान गरिएका छन् ।”

निगरानीका लागि १० क्यामेरा कार्यकक्षमा जडान गरिएका छन् । क्यामेराको कन्ट्रोलकक्ष नगरप्रमख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा राखिएको छ । नगरप्रमुख, उपप्रमुख र प्रवक्ताको कार्यकक्षमा भने सिसीटिभी क्यामेरा जडान गरिएका छैनन् । नपा प्रवक्ता जगतबहादुर सिंहले आवश्यकता नभएर नगरप्रमुख, उपप्रमुख र आफनो कार्यकक्षमा क्यामेरा जडान नगरिएको बताए ।