प्रदेश 2

राजविराज नगरपालिकाद्धारा ज्येष्ठ नागरिकलाई सम्मान

सप्तरी । राजविराज नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरपालिकाका १६ वडाबाट सबै ८५ वर्ष नाघेका पाँच÷पाँच ज्येष्ठ नागरिक छनोट गरी सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा नगरप्रमुख शम्भु यादवले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाउनुका साथै छाता, कम्बल र झोला दिएर सम्मान गरेका हुन । सम्मान पाउनेमा राजविराज नगरपालिका वडा नं १३ का वडाध्यक्ष १०५ वर्षीय राजेन्द्रप्रसाद यादवसहित ९५ वर्षीय प्रधुम्न यादव, ९४ वर्षीय बासुदेव यादव, ९१ वर्षीया फुलझरियादेवी यादवलगायत छन् ।

ज्येष्ठ नागरिकलाई नगरपालिकाले यातायात खर्चका साथै मिष्ठान्न भोजनको व्यवस्थासमेत गरेको छ । ज्येष्ठ नागरिकले पनि नगरप्रमुख यादवलाई फूलमाला, अबिर र दोसल्ला ओढाइ आशीर्वाद प्रदान गरेका थिए ।