समाचार

वडा कार्यालयमा आगजनी गरेको भन्दै विप्लवका कार्यकर्ता विरुद्ध किटानी जाहेरी

डोटी । जिल्लाको शिखर नगरपालिका–७ को वडा कार्यालयमा आगजनी गरेको भन्दै सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता दीर्घबहादुर कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा किटानी जाहेरी परेको छ ।

आगलागीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजात, फर्निचर, भवन सबै सखाप भएको भन्दै वडाध्यक्ष नरबहादुर बलायरले कुँवरविरुद्ध किटानी जाहेरी दिनुभएको हो । उक्त वडा कार्यालयमा यही साउन १२ गते राति आगजनी गरिएको थियो ।

त्यस्तै गत साउन ७ गते डोटीकै जोरायल गाउँपालिका–४ को वडा कार्यालयमा पनि अज्ञात समूहले आगजनी गरेको थियो । आगजनीबाट वडाध्यक्ष र वडासचिवको कार्यकक्षमा रहेका सम्पूर्ण कागजात, फर्निचरलगायतका सामग्री जलेर नष्ट भएका छन् ।

घटनास्थलमा भेटिएको मोबाइल सेटको आधारमा प्रहरीले एक शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको भए पनि नाम भने सार्वजनिक गरेको छैन । वडाध्यक्ष नन्दलाल भट्टले विप्लव समूहका स्थानीय एक कार्यकर्ताको संलग्नता भएको हुनसक्ने आशङ्का गरेपछि प्रहरीले मोबाइल र वडाध्यक्षको भनाइलाई आधार मानेर पक्राउ गरेको बताइएको छ ।

त्यस्तै गएको जेठको १४ गते राति बडीकेदार गाउँपालिका–४ मान्नाकापडीको वडा कार्यालयमा पनि आगजनी भएको थियो । वडा कार्यालय पूर्णरूपमा क्षति भएको वडाध्यक्ष वीरेन्द्र केसीले बताएका छन । नेकपाका कार्यकर्ताले नै आगजनी गरेको अड्कल र किटान गर्दै अहिले आगजनीमा परेका वडा कार्यालयका वडाध्यक्ष किटानी जाहेरी दिन लागिपरेका छन् ।

जिल्लामा रहेका स्थानीय तहका वडा कार्यालयमा सो पार्टीको संलग्नतामा नै आगजनी हुने गरेको निष्कर्ष निकाल्दै त्यहाँका जनप्रतिनिधि नेकपासंग आक्रोशित हुन थालेको स्थानीयवासी बताउँछन् । उता जिल्ला कार्यालय डोटीका प्रमुख विद्यानन्द माझीले वडा कार्यालयमा आगजनी भएको घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताएका छन ।
उनले भने शिखर र जोरायलको घटनामा संलग्न भएका केही पक्राउ परेका छन्, बडीकेदारमा आगजनी गर्नेको खोजी हुँदै छ, चाँडै सबै पक्राउ हुनेछन् ।”