अन्तर्राष्ट्रिय

ट्युनिसियामा नयाँ राष्ट्रपति चयनका लागि सेप्टेम्बार १५ तारिखमा निर्वाचन हुने

एजेन्सी । ट्युनिसियामा नयाँ राष्ट्रपति चयनका लागि आगामी सेप्टेम्बार १५ तारिखका दिन निर्वाचन हुने भएको छ । उत्तर अफ्रिकी मुलुक ट्युनिसियाका बहालवाला राष्ट्रपति बेजी काइद इसेब्सीको निधन भएर पद खाली भएकाले निर्वाचन हुन लागेको हो ।

स्वास्थ्यमा समस्या आएपछि ट्युनिसियाको सैनिक अस्पताल भर्ना हुनुभएका बेजीको ९२ वर्षको उमेरमा यही जुलाई २५ तारिखका दिन निधन भएको हो । उनलाई निधनअघि एक महिनामै दास्रोपटक अस्पताल भर्ना गरिएको थियो । उनि संसारका ज्येष्ठ राष्ट्रप्रमुख मध्येमा पर्दथे ।

स्वतन्त्र उच्चस्तरीय निर्वाचन प्राधिकरणका अधिकारीहरूले सेप्टेम्बर १५ तारिखका दिन राष्ट्रपति चयनका लागि निर्वाचन गर्ने बारेमा बुधबार जानकारी दिएका हुन् । प्राधिकरणले राजनीतिक दलसहित सरोकारवालाहरूसँग परामर्श गरेर निर्वाचनको मिति तय गरेर घोषणा गरेको जनाएको छ ।

राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्न चाहने उम्मेदवारहरूलाई अगस्ट २ देखि ९ सम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ । उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि सेप्टेम्बर २ देखि १३ सम्मको समय दिनेगरी निर्वाचन तालिका बनिसकेको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार निर्वाचन भएको दुई दिनमा मत परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ ।