अन्तर्राष्ट्रिय

सुडानका अपदस्थ राष्ट्रपतिको पहिलो सुनुवाई नै सर्‍यो

खार्टुम । राजनीतिक सङ्कटमा फसेको सुडानका अपदस्थ राष्ट्रपति ओमर अल बसिरको पहिलो सुनुवाई नै पछाडि सरेको छ ।

भ्रष्टाचारलगायत उनका विरुद्धमा लागेको आरोपमाथि बुधबार सुनुवाई गर्ने तय भएकोमा पछाडि सारिएको हो ।

उनलाई भ्रष्टाचारसँगै विदेशी मुद्राको अपचलन गरेको, गैरकानुनी सम्पत्ति आर्जन गरेकोलगायतका आरोप लगाइएको छ ।

“सुरक्षाका कारणले उनलाई आज अदालत लैजान नसकिएको हो,” बसिरको सुरक्षा टोलीका प्रमुख अहमद इब्राहिम अल ताहिरले बुधबार पत्रकारहरुसँग भने ।

उनले थपे, “बसिरको सुनुवाई आज नभएपछि आगामी अगस्ट १७ तारिखका दिन गर्ने गरी तय भएको छ ।”

सुडानमा केही महिनादेखि भएको आन्दोलनको आडमा सेनाले उनलाई अपदस्थ गरेर सत्ता हातमा लिएको छ ।

सेनाले सत्ता लिए पनि आन्दोलन चर्किँदै गएपछि अहिले सेना र नागरिकको सहभागितामा संयुक्त सरकार बनाउने गरी वार्ता तथा छलफल भइरहेका छन् ।

आन्दोलन गरेका केही समूहले सैन्य शासकसँग सम्झौता गरेर सत्तामा जाने तयारी गरे पनि केही समूहका नेताहरु भने असन्तुष्ट देखिएका छन् ।

अहिले असन्तुष्ट पक्षलाई पनि समेटेर राजनीतिक सङ्कट न्यूनीकरण गर्दै लैजाने प्रयास भइरहेको समाचारमा जनाइएको छ ।