राजनीति

काँग्रेस हेडक्वाटरमा बसेको बुधबारको केन्द्रीय समिति बैठकले यस्ता गर्यो निर्णय

काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय कार्यालयमा बसेको छ । गत असार २२ गतेदेखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु— कृष्णप्रसाद सिटौला, महेश आचार्य, डा. मिनेन्द्र रिजाल, धनराज गुरुङ, शंकर भण्डारीले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

बुधबारको काँग्रेस बैठकले बुढीगण्डकी जलाशययुक्त जलविद्युत परियोजना निर्माण गर्दा डुवानमा पर्ने गोरखा र धादिङ जिल्लाका धेरै गाउँपालिकाहरुको जग्गा जमिनको मुआब्जा वितरण भैसकेको तर सोही दुवै जिल्लाका आरुघाट बजार, खहरेबजार र आरखेत बजार क्षेत्रको घर जग्गाको मुआब्जा निर्धारण गरी वितरण गर्ने कार्य संघीय सरकारको ठाडो आदेशद्वारा एकाएक रोक्का गरिएको सम्बन्धमा यो बैठकको ध्यान आकर्षण भएको छ ।

उक्त बैठकमा परियोजनाको डुबान क्षेत्रमा पर्ने उक्त बजारहरुको घरजग्गा ४÷५ वर्षदेखि बिक्री, नामसारी गर्न नपाउने गरी जिल्ला मालपोत कार्यालयबाट रोक्का गरिएकोबाट सो क्षेत्रका बासिन्दा, व्यापारी, उद्योगपति एवं नागरिकहरुलाई मर्का परिरहेको सन्दर्भलाई ध्यानमा राखी सो बजार क्षेत्रहरुमा रहेको घर–जग्गाको उचित मूल्याङ्कन गरी मुआब्जा अविलम्व वितरण गर्न काँग्रेसले माग समेत गरेको छ ।
केन्द्रीय कार्यसमितिको बैठक श्रावण १७ गते शुक्रबार दिनको १ बजे पुनः बस्ने मुख्यसचिव कृष्णचनद्र पौडेलले बताए ।