स्वास्थ्य

वैद्यखानामा स्वास्थ्य मन्त्रीको छड्के, नयाँ कार्ययोजना पेस गर्न निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सिंहदरबार वैद्यखाना विकास समिति कार्यालयको आज छड्के अनुगमन गरेका छन् ।

उपप्रधानमन्त्री यादवले वैद्यखानाको अनुगमन गरी प्रगति विवरण र आगामी कार्ययोजना मन्त्रालयमा पेश गर्न वैद्यखानाका प्रबन्ध निर्देशकलाई निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।

जडीबुटिजन्य औषधि उत्पादक संस्था वैद्यखानाको काम कारवाहीबारे जनगुनासो बढेपछि उनले छड्के अनुगमन गरेका हुन् । अनुमगनका क्रममा चारजना कामदार मात्रै औषधि कारखानामा काम गर्दै गरेको पाइएको थियो ।

करीब चार दर्जन कर्मचारी रहेको वैद्यखानामा चार जना मात्रै काम गरेको देखेर उपप्रधानमन्त्री यादवले असन्तुष्टि व्यक्त गरेका थिए । वैद्यखानाको दुरावस्था देखेर उनले हालको प्रगति विवरण र नयाँ कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् । उपप्रधानमन्त्री यादवसँगै अनुगमनमा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव, मन्त्रालयका सचिव रामकुमार थपलिया र स्वास्थ्यमन्त्रीका सल्लाहकार डा. केके राई सहभागी थिए ।