समाचार

कर्मचारीमा संस्कृतिको विकास हुनु जरुरी छ: उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कर्मचारीमा असल कार्य संस्कृतिको विकास हुनुपर्ने बताएका छन् । नेपाल निजामति कर्मचारी सङ्गठनले आज यहाँ आयोजना गरेको ‘शहीद मनोज–झपेन्द्र स्मृतिसभा तथा पुरस्कार वितरण’ समारोहलाई यहाँ सम्बोधन गर्दै उनले कर्मचारीले आफूलाई परिवर्तन गरी असलकार्य संस्कृतिमा बदल्नुपर्ने बताए ।

“कर्मचारीतन्त्रमा एउटा पेशागत दायित्व रहेको छ भने अर्को सामाजिक दायित्वसमेत रहेको छ”, उनले भने, “ती दुबैलाई मिलाएर असलकार्य संस्कृतिको विकास गर्न जरुरी रहेको छ ।” उनले सीमा अतिक्रमण, गैरनागरिकलाई नागरिकता, सार्वभौमसत्तामा अहिले पनि चुनौती थपिएकोले त्यसको बचाउन कर्मचारीको भूमिका रहनुपर्ने बताए ।

अहिलेको परिस्थितिअनुसार कर्मचारीतन्त्र आफूलाई परिवर्तन गरेमात्र कर्मचारीतन्त्र रहनेसमेत उनको धारणा रहेको थियो । “हिजोको घङधङी, आग्रह, गलग आदतको अभ्यासबाट कर्मचारीतन्त्र चल्दैन”, उनले भने, “अव आफूलाई परिवर्तनशील बनाई मुलुक सार्थक निर्माण गर्नतिर लाग्नुपर्दछ ।”

उनले कर्मचारीतन्त्र उत्पादकत्व र गुणस्तरीय सेवा दिनुपर्ने समेत बताए । उनले मुलुकको अर्थतन्त्र दलाल पूँजीवादीको हातमा रहेको भन्दै त्यसलाई बचाउन काम कर्मचारीको रहेको समेत बताए ।

उपप्रधानमन्त्री पोखरेलले सरकार परिवर्तन मुख्य नभइ प्रणाली परिवर्तन रहेको उल्लेख गर्दै कर्मचारी प्रणालीपरिवर्तन गर्नतिर लाग्नुपर्ने बताए । उनले ट्रेड युनियनको अधिकार संविधानमा नै उल्लेख गरिएकोले खारेज नहुने जानकारी गराए ।

कार्यक्रममा सङ्गठनका अध्यक्ष केदार देवाकोटाले सरकार सफल बनाउन कर्मचारीले हरतरहले सहयोग गरिरहेको बताए । कार्यक्रममा सर्वोकृष्ट जिल्ला कार्यसमितिमा सुनसरी जिल्लालाई पुरस्कार प्रदान गरेका थिए ।

यसैगरी प्रदेश नं– १ बाट उदयपुर, प्रदेश नं–२ बाट बारा, प्रदेश नं–३ बाट मकवानपुर, गण्डकी प्रदेशबाट तनहुँ, प्रदेश नं–५ बाट दाङ, कर्णाली प्रदेशबाट दैलेख र सुदूरपश्चिमबाट बाजुरा उत्कृष्ट जिल्लाको पुरस्कार प्रदान गरिएको थियो ।