आर्थिक

बेलैमा प्रभाव मूल्याङ्कन नगर्दा विपद् निम्तियो

फिदिम । पाँचथरको याङवरक गाउँपालिकाले सबै वडालाई समान प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने उद्देश्यसहित प्रत्येक वडाबाट एक।एक वटा ठूला योजना छनोट गर्‍यो । गत आर्थिक वर्षमा यी योजनाहरुमा रु २० लाखदेखि ३६ लाखसम्म बजेट छुट्टियो । जिल्लाकै दुर्गम मानिने यस गाउँपालिकाको वडा नं २ फलैँचाको मानव बस्तीबाट झण्डै ६ घण्टा पैदल दूरीमा रहेको बर्मे बस्तीमा मोटरबाटो पुर्‍याउने योजनालाई वडा नं २ ले मुख्य प्राथमिकतामा राख्यो । गाउँपालिकाले रु २० लाख बजेट छुट्ट्याइदियो । यहाँको सन्त गोलाई–नारायणी मावि–सेपी–चिङ्मा हुँदै बर्मेसम्म पुग्ने मोटरबाटोको निर्माण थालियो । समयमै काम सम्पन्न भयो । रकम निकासा समेत भयो ।

पाचौँ गाउँसभामा आएका वडाध्यक्ष देउकुमार योङहाङ तथा वडा सदस्यद्वय प्रेमकुमार राई र हरिप्रसाद अधिकारी गत असार ११ गते बिहान गाउँपालिकाको केन्द्र थर्पूमा अत्तालिइरहेका भेटिए । वडाध्यक्ष योङहाङको मोबाइलमा चिङ्मा भन्ने बस्तीबाट फोनमार्फत जानकारी आयो – “हामीलाई पहिरोले घेरिसक्यो । अब कसरी बाँच्ने ?” उनीहरु अत्तालिए । भागेर सुरक्षित स्थानमा सर्न आग्रह गरे । केही मिनेटमै वडा सदस्य राईको फोनमा सन्देश आयो – “आत्तिनु पर्दैन । हामी सबै भाग्यौँ ।

अब हामीलाई पहिरोले बगाउँदैन तर, हाम्रो घर, गोठ, गाईवस्तु सबै बगायो । के खाने, कहाँ बस्ने ?” अत्तालिएका उनीहरु दिउँसो ११ बजे गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङ, प्रमुख प्रशासकीय अधिकृत प्रवीणहाङ योङहाङसहित पहिरो गएको क्षेत्रतर्फ लागे । गाउँपालिकाले छुट्ट्याएको बजेटबाट निर्माण गरिएको मोटरबाटोकै कारण त्यहाँ असार १० गते राति पहिरो गएको र २५ घर प्रभावित भएको तथ्य फेला पर्‍यो । प्रभावितमध्ये १७ परिवार विस्थापित भई अहिलेसम्म त्रिपालमुनि दैनिकी गुजार्दै आएका छन् ।

फाल्गुनन्द गाउँपालिका वडा नं ३ स्थित मेची राजमार्गमा पर्ने पाङ्ग्रेभिरमा सडक अत्यन्तै साँधुरो थियो । सवारी साधन एकतर्फी मात्रै आवत–जावत हुन सक्थ्यो । सडक डिभिजन कार्यालयले सडक मुनिबाट ग्याभिङ गारो लगाउने ठेक्का प्रकृया अघि बढायो । मध्य बर्खामा यहाँ गारो लगाउन थालियो । गारो लगाउन आवश्यक ढुङ्गा त्यही साँधुरो सडकको भित्ताबाट उत्खनन गरियो । निरन्तर वर्षा हुने यस स्थानमा ढुङ्गा उत्खनन्पछि साउन १ गते पहिरो गयो । मेची राजमार्ग साउन २, ३ र ४ गते ठप्प भयो । अझै राजमार्ग खुलिसकेको छैन । एकतर्फी रुपमा सवारी आवत–जावत भइरहेको छ । सडकमाथिको पहिरो कतिबेला झर्छ भन्ने टुङ्गो हुँदैन । दुबैतर्फ एस्काभेटर राखेर झरेजति पहिरो पन्छाई सवारी खुलाउने प्रयत्नमा प्रशासन जुटिरहेको छ ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले भने – “ढुङ्गा उत्खनन् भइरहेको, गारो लगाइरहेको देख्यौँ । राजमार्गमा काम भइरहेका कारण सबै सडक डिभिजनको अनुगमन र नियन्त्रणअनुसार नै भइरहेको होला भन्ने अनुमान गरेका थियौँ तर, ढुङ्गा उत्खनन् गैरकानूनी रुपमा भएको रहेछ ।” त्यही उत्खनन्का कारण मेची राजमार्गमा अब पहिरोको जोखिम निम्तिएको सापकोटाको भनाइ छ । “सबै कुरा थाहा पाएपछि सम्बन्धित निकायलाई सचेत तुल्यायौँ ।” दैनिक सयौँ सवारी आवत–जावत हुने राष्ट्रिय राजमार्गमै व्यक्तिको स्वार्थका लागि ढुङ्गा उत्खनन् गरेर पहिरो गएपछि स्थानीय प्रशासन समेत सजग बनेको छ ।

हिलिहाङ गाउँपालिका वडा नं ७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन यलम्बर पार्कको छत ढलानको कार्य सकिएको १९ दिनपछि ठेकेदारसमेत रहेका मिस्त्रीहरुले ढलानको सटिङ खोल्दै थिए । स्थानीयवासीसमेत रहेका रुद्र राई, जगतबहादुर राई सहित चार जना सटिङ खोलिरहेका थिए । उनीहरु सदरमुकाम फिदिममा घर निर्माण गर्ने मिस्त्रीहरु थिए । सटिङ खोल्ने क्रममा साउन ६ गते बिहान ढलान खस्यो । रुद्र र जगतको सटिङले थिचेर घटनास्थलमै मृत्यु भयो । आफूहरु दक्ष मिस्त्री भएकाले उक्त निर्माण कार्यको अनुगमन गर्नु नपर्ने मिस्त्री एवं ठेकेदारहरुको दलिल थियो ।

गाउँपालिकाका प्रविधिज्ञ र जनप्रतिनिधिहरुसामु उनीहरु यही भन्थे । यस क्रममा गाउँपालिकाका एक जना प्रविधिज्ञलाई दुई पटक उनीहरुले दुब्र्यवहार गरेको कार्यवाहक वडाध्यक्ष सुनमान तामाङको भनाइ छ । घेराबाराका लागि विनियोजित रु २ लाख बजेटबाट छत ढलान गर्नु, प्रविधिज्ञको सल्लाह नलिई उनीहरुलाई नै दुब्र्यवहार गर्नु, उपभोक्ता समितिले निर्माण कार्य ठेक्कामा लगाउनु, गुणस्तर कायम नगर्नु जस्ता समस्याले दुःखद् घटना निम्त्याएको हिलिहाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालको भनाइ छ । कमसल काम गरेर बढी रकम आर्जन गर्ने उद्देश्यले उनीहरुको ज्यान गएको स्थानीयवासीको बुझाइ छ । आश्चर्य त तीन हप्ताअघिको ढलान भुईमा खस्दा अधिकाँश संरचना भाँचिएको टुटेको भेटियो । घटनास्थलमा भेटिएका गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले उक्त दुःखद् घटनाले विकासका कामबारे महत्वपूर्ण सन्देश दिएको बताए ।

सदरमुकाम फिदिम नगरपालिका वडा नं ४ गढीमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालयको संरक्षण पर्खाल निर्माण भएको दुई हप्ता नबित्दै साउन ८ गते राति भत्कियो । रु ४६ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको यो पर्खाल असार मसान्तमा निर्माण सम्पन्न भएको थियो । कार्यालय भवन सुरक्षाका लागि लगाइएको पर्खाल भत्किएपछि कार्यालय भवन समेत जोखिममा परेको छ । पर्खाल लगाउने बित्तिकै माटो भरिएका कारण चाप थाप्न नसकेर पर्खाल भत्किएको कार्यालयले जनाएको छ । तर, स्थानीयवासीले भने पर्खाल निर्माणका क्रममा राम्रोसँग जग नहालिएको, हिलो माटो भरिएका कारण पर्खाल भत्किएको बताएका छन् ।

तीन दिनदेखिको वर्षाका कारण गत साउन ४ गते ग्रामीण सडक अवरुद्ध थिए । जताततै बाढी र पहिरोको प्रकोप बढ्दै जाँदा तुम्बेवा गाउँपालिका–२ पिप्लेकी ५५ वर्षीया बुद्धमाया तामाङलाई अचानक स्वास्थ्य समस्याले सतायो । सबै सडकहरु पहिरोले अवरुद्ध थिए भने गाउँमा उपचार सम्भव थिएन । उपचारका लागि कोशी कोरिडोर हुँदै धरान लैजाने क्रममा साउन ४ गते झोलुङ्गोमा बोकेर धनकुटाको चौबीसे गाउँपालिका पु¥याउँदा उनको मृत्यु भयो । यो गाउँपालिकाका बासिन्दालाई उपचारका लागि जिल्ला सदरमुकाम फिदिम र सुनसरीको धरानसम्म पु¥याउनुपर्ने बाध्यता छ । कच्ची सडकमा सवारी गुड्न नसकेपछि यस दुर्गम भेगका स्थानीय बासिन्दाले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता अझै हट्न सकेको छैन । भनेको समयमा सवारीका साधन नपाइनु, सडकको दिगो पहुँच ग्रामीण क्षेत्रसम्म नहुनु र स्वास्थ्यकर्मी दुर्गममा नबस्नु जस्ता कारणले आफूहरु आधारभूत सेवाबाट वञ्चित हुनुपरेको स्थानीयवासीको दुःखेसो छ ।

यी प्रतिनिधि घटनाहरु हुन पाँचथरका । प्रभाव मूल्याङ्कन नगरी विकास निर्माणका आयोजना अघि बढाइँदा जिल्लामा निरन्तर दुर्घटना र क्षति हुँदै आएको छ । असारे विकासको लहरले अझै छोडेको छैन । असार मसान्तमा काम सम्पन्न गर्ने, हतार–हतार निकासा लिने प्रचलन विद्यमान छ । स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्रका महत्वका सडकहरुको नियमित मर्मत समेत गरेका छैनन् । मतदाता र स्थानीयवासीको मागअनुसार सडक विस्तार गर्ने क्रमले वर्षेनी पहिरो झरिरहेको छ । विकास निर्माणका आयोजनाको दीर्घकालीन उपयोगबारे कुनै पनि स्थानीय तहले योजना बनाएका छैनन् । स्थानीय तहहरुले आवधिक योजना निर्माण गरी त्यसैका आधारमा विकासलाई योजनाबद्ध बनाउने प्रयत्न थाले पनि त्यो ब्यवहारमा लागू हुन सकेको छैन ।

स्थानीय तहहरुले नजीकबाट नागरिकको सेवा गर्ने कार्यक्रम अघि बढाउन छोडेर महत्वाकाङ्क्षी योजनाहरु अघि बढाएको पाइएको भन्दै प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो योजनाको प्रभाव र स्थानीय तहको क्षमता मूल्याङ्कन गर्न सुझाव दिन्छन् । “स्थानीय तहमा धेरै महत्वकाङ्क्षा छ तर, विकासमा फड्को मार्ने स्पष्ट योजना र स्रोतको अभाव छ,” आङ्बोले भने – “यस्तो प्रवृत्तिले स्थानीय तहहरुको प्रगति ब्यवहारमा झल्काउँदैन । नागरिकको सेवा समेत हुन सक्दैन ।” प्रभाव मूल्याङ्कन नहुँदा केही सडकमा बजेट खर्च गर्दागर्दै जनप्रतिनिधिहरुको कार्यकाल सकिने उनको चिन्ता छ । “जथाभावी सडकको ट्र्याक खोलिएको छ । बर्खामा पहिरो झर्छ । अर्को वर्षको बजेट पुनः सडक खुलाउनुपर्‍यो । अर्को बर्खामा फेरि सडक पुरिन्छ,” आङ्बोले भने – “धेरै स्थानीय तहको हालत यस्तै हुने देखिन्छ ।”