कृषि

साउनको दोस्रो सतासम्ममा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न

राजविराज । सप्तरीमा सिँचाइको उचित व्यवस्था नभए पनि यस वर्ष समयमा वर्षा भएका कारण साउनको दोस्रो सतासम्ममा यहाँ ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

जिल्लाको अधिकांश स्थानमा खेतीयोग्य जमीन भए पनि सिँचाइको अभाव र समयमा वर्षा नहुँदा र वर्षा भए पनि बाढीले अधिकांश ठाउँमा बालुवा र लेदो, खस्रो माटो जमीनमा भरेपछि यहाँका जमीन बाँझो रहेको पाइन्थ्यो । सप्तरीमा सिञ्चित ४० हजार र असिञ्चित ३० हजार गरी कूल ७० हजार हेक्टर खेतीयोग्य जमीन रहेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ ।

यस वर्ष असारको अन्तिम र साउनको पहिलो सातामा भारी वर्षा भएपछि अहिलेसम्म सप्तरी जिल्लामा ५९ हजार २०० हेक्टर जमीनमा धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत भगिरथ यादवले जानकारी दिए ।

जिल्लामा रहेका तीन वटै सिँचाइ प्रणालीबाट पानीको व्यवस्था नभएपछि पम्पसेटका भरमा वर्षा हुनुपूर्व पनि किसानले धान रोपाइँ गरेका हुनाले अहिलेसम्म ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको अधिकृत यादवको भनाइ छ ।

जिल्लाको पूर्वी–दक्षिण क्षेत्रको केही जमीनमा सिँचाइ भए पनि पश्चिम र उत्तरी भेगका खेतीयोग्य जमीनहरु अझै बाँझै रहेको पाइएको उनले बताए । साथै हालै आएको बाढीका कारण तीन हजार २०० हेक्टर जमीनमा बालुुवा भरिएकाले सो जमीनमा धान रोपाइँ हुन नसकेको उनले बताए ।

त्यस्तै सप्तरीमा सिँचाइ सुविधा नहुँदा जिल्लाको वोदेवरसाइन, सारस्वर, पातो, वरही वीरपुर, फुलकाही, कोदरकट्टी, भुतही, मानराजा, खडकपुर, अर्नाहा, ब्रह्मपुर, कविलासा, मलहनियाँ, मलहनमा, हर्दिया कटैया, रामपुर जमुवा, मोहनपुरलगायत पश्चिम र उत्तर क्षेत्रका केही स्थानमा यस वर्ष भारी वर्षा भएकाले सुक्खा रहेका खेतमा बाढीले पर्याप्त मात्रमा पानी भरिएपछि सो क्षेत्रमा अहिले धान रोपाइँ सम्पन्न भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

सुक्खा खेत हलो जोतेर पानी पर्ने आशमा बसेका किसान असारको अन्तिम सातामा पानी परेपछि धान खेतीमा सहयोग मिलेको हनुमानगर कङ्कालनी नगरपालिका–१ का किसान बौवालाल माझीले बताए ।

यता कोशी पश्चिमी नहर, कोशी पम्प नहर र चन्द्र नहरमा पनि पर्याप्त पानी नभएका कारण तथा ती नहरहरुमा समयमा पानी नछाडिएका कारण समेत यहाँ धान रोपाइँ गर्न समस्या हुने गरेको कृषकले गुनासो गरेका छन् ।