गण्डकी प्रदेश

भृकुटीको जग्गा उद्योगबाहेकलाई बिक्री वितरण गर्न नपाइने

चितवन । गैँडाकोटमा रहेको भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेडको नाममा रहेको जमीन उद्योगबाहेकका प्रयोजनका लागि बिक्री वितरण गर्न नपाइने उद्योग विभागले जनाएको छ । सरकारसँग जे प्रयोजनका लागि निजी क्षेत्रले खरीद गरेको हो सो बाहेकका क्षेत्रमा प्रयोग गर्न नपाउने भएको हो ।

विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जनताको जमीन सरकारले अधिग्रहण गरेर उद्योग स्थापना गरेको जनाउँदै पछि निजी क्षेत्रलाई बिक्री गरेको भए पनि उद्योग प्रयोजनबाहेक अन्य प्रयोजनमा जमीन उपयोग गर्न नपाइने व्यवस्था रहेको बताए । उनले भने, “फरक उद्योग हुन सक्छन्, तर टुक्रा पारेर घडेरी र अन्य प्रयोजनमा जग्गा प्रयोग गर्न पाइँदैन ।”

विसं २०६७ फागुन १९ गतेबाट सो उद्योग पूर्णरूपमा बन्द रहेको छ । उद्योगमा काम गर्ने ९२ कर्मचारी रकम लिएर बिदा भएको भए पनि अरू तीन सय कर्मचारीले २०६७ मङ्सिरदेखि तलब पाउन सकेका छैनन् । विसं २०४९ मा सो उद्योग सरकारले निजीकरण गर्दै गोल्छा अर्गनाइजेशन, काभ्रा समूह र कन्क्राफ्टलाई जमीन र उद्योग दिएको थियो । उद्योगको जग्गा ६० बिघा रहेको छ । बन्द भएको उद्योग जीर्ण बन्दै गएको छ भने जमीन झाडीले ढाकेको छ ।

विसं २०३९ मा चीन सरकारले नेपाललाई कागजमा आत्मनिर्भर बनाउने भन्दै उद्योग स्थापना गरिदिएको थियो । तत्कालीन समयमा उद्योगको क्षमता दैनिक १३ टन कागज उत्पादन रहेको मजदुरले बताएका छन् । गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले सो जमीन नेपाल सरकारमातहत ल्याउन पहल गरिएको बताए । नगरसभाबाट निर्णय गरी प्रधानमन्त्री, अर्थमन्त्री, श्रममन्त्री, प्रदेशका मुख्यमन्त्री र उद्योगमन्त्रीलाई भेट गरी यस विषयमा जानकारी गराएको उनको भनाइ छ ।

सरकारले बिक्री गरेको मूल्यमा ब्याज थप गरी निजी क्षेत्रबाट फिर्ता लिएर सो ठाउँमा राष्ट्रिय गौरवको आयोजना स्थापना गर्न नगरपालिकाले पहल गरिरहेको पौडेलले बताए । अस्पताल वा विश्वविद्यालय स्थापना गर्न सकिने उनको राय छ ।