राजनीति

सांसद बस्नेत भन्छन् प्रत्येक दुर्गम क्षेत्र अबको तीन वर्षभित्र सुगम बन्नेछन्

भक्तपुर । सूर्यविनायक नगरपालिका–९ नंखेलमा निर्माण भएको ट्रस पुल सञ्चालनमा ल्याइएको छ । सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गरेका सो पुल उनकै पहलमा निर्माण गरिएको हो । सांसद बस्नेतले भक्तपुरका प्रत्येक दुर्गम क्षेत्रलाई अबका तीन वर्षभित्र सुगम बनाइने घोषणा गर्दै अरनिको राजमार्गबाट १५० मिटरभित्र रहेर पनि दुर्गम नंखेल अब सुगममा परिणत हुने बताए ।

उनले पलासेदेखि डोलेश्वरसम्मको सडक निर्माण दशैँअघि नै सम्पन्न हुने, मासपाटीदेखि जोरपाटी सडक, भातेढिकुरदेखि नंखेल जाने सडक, पलासेदेखि काँक्राबारी जाने सडक केन्द्रीय योजनामा पार्न सफल भएको बताए । सांसद बस्नेतले दिव्येश्वरी तथा बृहत् खानेपानी आयोजनाले ३०० घरलाई खानेपानी पुग्ने गरी ल्याउन लागेको बताउँदै उनले अब सूर्यविनायक क्षेत्रमा खानेपानीको अभाव नहुने र नयाँ खानेपानीको मुहानलाई व्यवस्थित गरिने बताए ।

वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले सूर्यविनायक नगरपालिकाको रू ११ लाख र ट्रस पुल निर्माणका तर्फबाट रु ११ लाख गरी कूल रु २२ लाखको लागतमा पुल निर्माण गरिएको र यसबाट यहाँका बासिन्दालाई निकै सहज भएको बताए ।