प्रदेश 1

पुलको अभावमा डुंगाको सहारा लिदै गाईघाटवासी

गाईघाट । उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–५ को सिवाइ सुन्दरपुरस्थित त्रियुगा नदीमा १० वर्षअघि निर्माण शुरु भएको त्रियुगाको पक्की पुल अझैसम्म पनि निर्माण सम्पन्न हुन नसकेपछि अहिले बर्षायाममा स्थानीयवासीले नदी आवतजावत गर्न डुङ्गा सञ्चालन गर्न बाध्य भएका छन् ।

१० वर्षअघि नै सुन्दरपुरस्थित त्रियुगा नदीमा निर्माण शुरु गरेको पक्की पुल निर्माणकार्य महालक्ष्मी लोकप्रिय जेभी निर्माण कम्पनीले ठेक्का लिएको भए पनि अहिलेसम्म पुलका पिलरसमेत निर्माण हुन नसकेपछि त्रियुगा सुन्दरपुर, सिवाइदेखि चौदण्डी नगरपालिकाको बेल्टार बजारसम्म पुग्न र वारपार गर्न बाध्य भएर डुङ्गा सञ्चालन गर्नुपरेको चौदण्डी नगरपालिका–५ का वडाध्यक्ष देवनारायण चौधरी बताउछन ।

वर्षायाम लागेसँगै त्रियुगा नदीको बहाव बढेका कारण साउन–भदौसम्म त्रियुगा नदी वारिपारि गर्न नसकिने अवस्था आएका कारण डुङ्गा सञ्चालन गरेर स्थानीयवासीलाई नदी वारपार गराउने कार्य शुरु भएको वडाध्यक्ष चौधरीले बताएका छन । स्थानीय व्यक्तिलाई डुङ्गा सञ्चालनको ठेक्का दिएको र प्रतिव्यक्ति नदी तार्नको लागि रु २० भाडासमेत निर्धारण गरिएको वडाध्यक्ष चौधरीले बताए ।

यस विषयमा चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्र राई भन्छन, “अहिले नदी तर्न र तार्नका लागि सुनकोशी र सप्तकोशीमा समेत डुङ्गा सञ्चालन हुन छाड्यो, किनकि ती स्थानमा पुल निर्माण भइसकेका छन् तर चौदण्डीको सुन्दरपर सिवाइ क्षेत्रको त्रियुगा नदीमा समयमा पुल निर्माण हुन नसक्दा वर्षायाममा स्थानीयवासीको सेवाका लागि डुङ्गा चलाउन बाध्य भयौँ ।”

२०६७ सालमा नै चौदण्डी नगरपालिकाको सिवाई सुन्दरपुरस्थित त्रियुगा नदीमा पक्की पुुलको शिलान्यास गरेर गाईघाट दिक्तेल सडकअन्तर्गत पुल निर्माणकार्य शुरु भएको भएता पनि अहिलेसम्म पुुलका पिलरहरु नै निर्माण हुननसकेका कारण समयमा पुल नबन्दा सुन्दरपुर र सिवाइका बासिन्दा त्रियुगा वारीपारी गर्न डुङ्गाको सहयोग लिन बाध्य हुनुपरेको स्थानीय भोलाप्रसाद घिमिरेले बताएका छन ।

यसैबीच देश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकामा तीन थानमा डुङ्गा उपलब्ध गराउनु भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा प्रत्येक वर्ष बाढी आएको बेला आवागमनमा समस्या रहेकाले स्थानीयवासीको आग्रहमा मन्त्री साहले डुङ्गा उपलब्ध गराएका ।

मन्त्री साहले बाढी प्रभावित क्षेत्रमा पुगेर तिलाठी कोइलाडी गाउँपालिका वडा नं ४ बनरझुला र टिकुलियामा एक,एक र वडा नं ५ चट्टीटोलमा एउटा डुङ्गा स्थानीय बासिन्दालाई हस्तान्तरण गरेका हुन । वर्षा र बाढीका कारण सप्तरी जिल्लाको अति बिकट मानिएको तिलाठी कोइलाडी गाउँपालिकाअन्तर्गतका बस्ती प्रत्येक वर्ष सामान्य वर्षा भएका बेलामा पनि डुबानमा पर्दै आएको छ ।

वर्षा हुनेबित्तिकै खाँडौखोला, कोशी नदीको सिपेजको पानी र जिता नदीको बाढीका कारण स्थानीय बासिन्दा डुबानमा पर्दै आएका छन् । स्थानीयवासीले आवतजावत गर्न सास्ती खेप्नु परेकाले सहज र सुरक्षित रहनको लागि सो गाउँपालिकामा डुङ्गा प्रदान गरेको मन्त्री साहले बताएका छन । करीब दुई साता अगाडि वर्षासँगै आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिकाको कार्यालय डुबाउनुको साथै सो गाउँपालिकाका अधिकांश वडाका घर डुबानमा परेका थिए ।